/*php the_title();*/?>
नागरिकहरूले बुझे कि उनीहरू केवल शासित हुनका लागि जन्मिएका होइनन्, बरु शासनको हिस्सेदार हुन् । उसो भए अहिले सम्मका निर्वाचनमा नेपाली नागरिकहरू किन दर्शक मात्र बने, अहिले एकाएक किन निर्णायक बने ? भन्ने कुराका सन्दर्भलाई सजिलोसँग बुझ्न पञ्चतन्त्रको एउटा कथा सान्दर्भिक हुन्छ ।
अञ्जु कार्की
भरखरै सम्पन्न आमनिर्वाचनको परिणाम केवल सत्ता परिवर्तन मात्रै नभएर नेपाली लोकतन्त्रको नयाँ मोड हो भन्ने सन्दर्भमा विभिन्न कोणबाट बहस हुनु स्वाभाविकै हो । किनकि कसैले पनि यो परिणामलाई सामान्य ठानेका छैनन् । लोकतन्त्रमा देशको सार्वभौम अधिकार जनतामा निहित हुन्छ । जनताले निर्वाचनको माध्यमबाट यो अधिकार आफ्ना प्रतिनिधिमार्फत प्रयोग गर्छन् । तर अहिलेसम्मको अभ्यास हेर्दा जनताले केही निश्चित दलहरूलाई अनुमोदन गर्दै आएका थिए । तर यसपटक पुराना दलहरूलाई भारी बहुमतले अस्वीकृत गर्दै नयाँ दल रोजे । जनताबाट भारी बहुमतका साथ अनुमोदन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसलाई मतक्रान्ति भनेको छ ।
नेपाली लोकतन्त्रको आरम्भ विन्दु २००७ लाई जनक्रान्ति भन्ने गरिए जस्तै आमनिर्वाचन २०८२ को परिणामलाई मतक्रान्ति किन भन्नुपर्छ ? भन्ने सन्दर्भमा विभिन्न तर्कपूर्ण कारणहरू छन् । किनकी २००७ सालको जनक्रान्तिले जनताको हातमा अधिकार त दियो, तर जनता दर्शक जस्तै सावित भए । जसका कारण यो अवधिमा मुलकमा धेरै उतारचढाव आए, जनअधिकार गुम्ने र बहालीका लागि फेरी संविधान बाहिरबाट संघर्ष गर्नुपर्ने चरणमा मुलुक गुज्रिरह्यो । तर यस पटकको निर्वाचनमा जनताले निर्णायक भूमिका निर्वाह गरे । मतदानबाटै क्रान्ति सम्भव छ भन्ने उदाहरण जनताले प्रस्तुत गरे ।
प्रसिद्ध दार्शनिक जिन–ज्याक रुसोका अनुसार, जब नागरिकहरू आफ्नो सार्वभौम अधिकार केवल मतपत्रमा सीमित गर्छन् र त्यसपछि निष्क्रिय बस्छन्, तब उनीहरू स्वतन्त्र रहँदैनन् । तर भरखर सम्पन्न आमनिर्वाचनले निष्क्रियताको यो पर्खाल भत्काउँदै नागरिकलाई ‘दर्शक’बाट ‘निर्णायक सहभागी’मा रूपान्तरण गरेको छ । यो निर्वाचन केवल सत्ता परिवर्तनको माध्यम बनेन, बरू यो नेपाली समाजको ‘चेतनाको महाविस्फोट’ साबित भयो ।
लोकतन्त्र केवल आवधिक निर्वाचन र बहुमतको गणित मात्र होइन, नागरिकहरूको सक्रिय र सचेत सहभागितामा आधारित एक जीवित सामाजिक सम्झौता हो । अब्राहम लिंकनले लोकतन्त्रको संक्षिप्त परिभाषा गर्दै ‘जनताद्वारा, जनताका लागि, जनताको शासन’ भनेका छन् । अब्राहम लिंकनको आदर्श वाक्यले नागरिकको केन्द्रीयतालाई स्पष्ट त गर्छ, तर व्यवहारमा यो कति लागू भएको छ भन्ने प्रश्न नेपालका सन्दर्भमा २००७ सालदेखि नै सधैँ पेचिलो रहँदै आयो । यो दशक लामो राजनीतिक संघर्षको इतिहासले भन्छ, नेपाली नागरिकहरू व्यवस्था बदल्न सहभागी त भए, तर व्यवस्था फेरिएपछि पुनः ‘मौन दर्शक’ को भूमिकामा खुम्चिए ।
सत्ताको आधिपत्य विरूद्धको विष्फोट
समाजशास्त्रीय दृष्टिले हेर्दा, लोकतन्त्रको सफलता नागरिक संस्कृतिमा निर्भर हुन्छ । भारतीय समाजशास्त्री आन्द्रे बेतेले भनेका छन्, ‘लोकतन्त्र केवल संविधान र संस्थाहरूको संरचना मात्र होइन, यो नागरिकहरूको दैनिक व्यवहार र संस्कृतिमा झल्किनुपर्छ ।’ नेपालमा लामो समयसम्म ‘प्रजाबाट ‘नागरिक’ बन्ने प्रक्रिया त चल्यो, तर राजनीतिक दलहरूले नागरिकलाई केवल भोट बैंकको रूपमा प्रयोग गरे ।
इटालेली समाजशास्त्री एन्टोनियो ग्राम्सीको ‘हेजेमनी’ वा सांस्कृतिक आधिपत्यको सिद्धान्त यहाँ सान्दर्भिक देखिन्छ । पुराना राजनीतिक शक्तिहरूले दशकौँसम्म एउटा यस्तो भाष्य निर्माण गरे कि हामीबाहेक अरू विकल्प छैन । नागरिकहरू यो भाष्यको घेराभित्र दर्शक बनेर बस्न बाध्य भए । तर २०८२ सम्म आइपुग्दा, सूचना प्रविधिको विस्तार र वैश्विक चेतनाले यो आधिपत्यलाई चुनौती दियो । नागरिकहरूले बुझे कि उनीहरू केवल शासित हुनका लागि जन्मिएका होइनन्, बरू शासनको हिस्सेदार हुन् ।
उसो भए अहिलेसम्मका निर्वाचनमा नेपाली नागरिकहरू किन दर्शक मात्र बने, अहिले एकाएक किन निर्णायक बने ? भन्ने कुराका सन्दर्भलाई सजिलोसँग बुझ्न पञ्चतन्त्रको एउटा कथा सान्दर्भिक हुन्छ ।
कथाको सार
एक व्यापारीको संजीवक नामको एउटा बलियो गोरु यमुना किनारको हिलोमा फस्छ । निकै प्रयास गर्दा पनि निस्कन नसकेपछि व्यापारीले उसलाई त्यहीँ छाडेर हिँड्छ । तर, केही समयपछि संजीवक हिलोबाट निस्कन सफल हुन्छ र जंगलको हरियो घाँस खाएर झनै हृष्टपुष्ट र बलियो बन्छ । खुसी भएको संजीवक जंगलमा जोडले डुक्रन थाल्छ ।
त्यही जंगलको राजा पिंगलक नामको सिंह थियो । उसले गोरुको त्यो डरलाग्दो आवाज पहिले कहिल्यै सुनेको थिएन । सिंह डराउँछ र आफ्ना मन्त्रीहरू करटक र दमनक (दुई स्याल) सँग सल्लाह गर्छ । चलाख दमनकले सिंहको डर बुझ्छ र गोरुसँग भेट गरी उसलाई सिंहको दरबारमा लिएर आउँछ । बिस्तारै सिंह (पिंगलक) र गोरू (संजीवक) बीच गहिरो मित्रता गाँसिन्छ । सिंहले सिकार गर्न छाडेर गोरुसँगै समय बिताउन थाल्छ । यो देखेर स्यालहरू (विशेषगरी दमनक) चिन्तित हुन्छन्, किनकि सिंहले सिकार नगर्दा उनीहरूले खाने जुठो मासु पाउन छाडेका थिए ।
आफ्नो स्वार्थका लागि दमनकले ‘मित्रभेद’ (मित्रता तोड्ने) योजना बुन्छ । उसले सिंहलाई गएर भन्छ, ‘महाराज, यो गोरुले तपाईंलाई मारेर आफैँ जंगलको राजा बन्ने योजना बनाउँदै छ ।’ अर्कोतिर, उसले गोरूलाई गएर भन्छ, ‘सिंहले तपाईंलाई मारेर आफ्नो आहार बनाउने तयारी गर्दै छ ।’
दमनकको कुरा पत्याएर दुवै एकअर्काप्रति शंकालु बन्छन् । अन्ततः, महान् मित्रहरू शत्रुमा परिणत हुन्छन् र उनीहरूबीच भीषण युद्ध हुन्छ, जसमा संजीवक गोरुको मृत्यु हुन्छ । सिंहले आफ्नो प्रिय मित्र गुमाउँछ भने स्यालहरूले आफ्नो स्वार्थ पूरा गर्छन् ।
यो कथामा उल्लेख गरिए जस्तै बारम्बारको सरकार परिवर्तन र भ्रष्टाचारका काण्डहरूले नागरिकमा राजनीतिप्रति वितृष्णा पैदा गर्यो । कथामा पिंगलक सिंह र संजीवक गोरुको मित्रतालाई चलाख स्यालहरूले आफ्नो स्वार्थका लागि तोडिदिएका थिए । नेपालमा पनि ‘बिचौलिया’ र ‘स्वार्थी पात्र’ हरूको हालीमुहालीले जनता र नेतृत्वबीचको विश्वासको डोरी काटिदिएको थियो ।राजनीतिमा ‘दमनक’ जस्ता स्वार्थी पात्र वा बिचौलियाहरू हुन्छन्, जसले नेता र जनता (वा शक्ति र नागरिक) बीचको सम्बन्ध बिगारेर आफ्नो स्वार्थ पूरा गर्छन् । जब नेतृत्वले नागरिकको आवाज सुन्न छाडेर स्वार्थी समूहको कुरा सुन्छ, तब सत्ता र जनताबीच ‘मित्रभेद’ हुन्छ । पुराना दलहरू (सिंह) र नागरिक (गोरु) बीचको विश्वास यही ‘दमनक शैली’ को बिचौलिया राजनीतिको कारण टुट्यो, जसले गर्दा नागरिकहरूले नयाँ विकल्प रोज्नुपर्यो ।
किन असफल भए पुराना दल ?
समाजशास्त्री म्याक्स वेबरका अनुसार, आर्थिक अवसरको अभावले मानिसलाई राजनीतिक रूपमा निष्क्रिय बनाउँछ । नेपालको करिब ५० लाख युवा जनसंख्या विदेशिनु र बाँकी रहेकाहरू दैनिक जीविकोपार्जनमै अल्झिनुले लोकतन्त्रमा ‘गुणस्तरीय सहभागिता’ घटायो । कार्ल माक्र्सले भनेझैँ, सत्तासीन वर्गले फैलाएको ‘मिथ्या चेतना’ का कारण नागरिकहरूले आफ्नै हित र अधिकार चिन्न सकेका थिएनन् । उनीहरू ‘झोले’ कार्यकर्ता बनेर नेताको रक्षा गर्नुलाई नै लोकतन्त्र ठानिरहेका थिए ।
त्यसैले २०८२ सालको निर्वाचन नेपाली राजनीतिको ‘टर्निङ प्वाइन्ट’ सावित भयो । यसले दशकौँदेखि सत्तामा कब्जा जमाएका ‘पुराना शक्ति’ को आधारभूत जग हल्लाइदियो । २०७९ सालको निर्वाचनमा देखिएको असन्तुष्टि २०८२ सालमा आइपुग्दा ज्वालामुखी बनेर विस्फोट भयो । तथ्यांकअनुसार, नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठुला दलहरूको ‘पपुलर भोट’ मा २०७९ सालको तुलनामा करिब ५० प्रतिशतले कमी आयो ।
विशेषगरी सहरी क्षेत्र र शिक्षित युवा मतदाता भएको क्षेत्रमा पुराना दलका ‘दिग्गज’ भनिएका नेताहरू समेत पराजित भए । नेकपा माओवादी केन्द्र जस्ता ‘क्रान्तिकारी’ भनिएका शक्तिहरूको आधार इलाका (गढ) समेत भत्कियो, जहाँ नागरिकहरूले ‘परिवर्तनको नारा’ र ‘व्यवहारको भ्रष्टाचार’ बीचको अन्तर प्रष्ट बुझे ।
रास्वपाको उदय केवल एउटा राजनीतिक दलको जन्म मात्र होइन, यो नेपाली समाजको ‘डिजिटल र सचेत विद्रोह’ को स्वरूप हो । रास्वपाले ‘डेटा’ र ‘डेलिभरी’ लाई आफ्नो मूल एजेन्डा बनायो । यो निर्वाचनमा रास्वपाले प्राप्त गरेको सिट संख्या र मत प्रतिशतले के पुष्टि गर्छ भने नागरिकहरू अब ‘विचारधारा’ को दास होइन, ‘परिणाम’ को भोका छन् । रास्वपाले परम्परागत राजनीतिको ‘सिन्डिकेट’ लाई सामाजिक सञ्जाल र सार्वजनिक बहसमार्फत परास्त गर्यो ।
२०८२ सालको निर्वाचनले सहभागी लोकतन्त्रका लागि केही नयाँ आयामहरू स्थापित गरेको छ । सोसल मिडियालाई केवल मनोरञ्जनको साधन मान्ने सोच गलत सावित भयो । यसलाई जनचेतना र बहसको सशक्त माध्यम बनाइयो । रोबर्ट डलले सूचनाको पहुँचलाई परिवर्तनको सर्वाधिक बलियो मोड भनेका छन् । नेपालका सन्दर्भमा पनि जनताको ‘सूचनामा पहुँच’ लाई प्रविधिले पूर्णता दियो । वडा र गाउँपालिकामा नागरिकहरूले ‘हाम्रो पैसा कहाँ खर्च भयो ?’ भनी प्रश्न सोध्न थाले । यसले तृणमूलमा लोकतन्त्रलाई बलियो बनायो ।
विदेशमा रहेका करिब ५० लाख नेपालीहरूको ‘डिजिटल सहभागिता’ ले निर्वाचनको नतिजा बदल्न मुख्य भूमिका खेल्यो । उनीहरूले घरमा रहेका परिवारलाई परिवर्तनको पक्षमा उभिन प्रेरित गरे । एनजिओ र आइएनजिओको घेराभन्दा बाहिर निस्केर स्वतन्त्र अभियन्ता र बौद्धिक वर्गले नागरिकलाई ‘वाचडग’ (प्रहरी) को रूपमा उभ्याउन सफल भए । उता परम्परागत राजनीतिक दलहरू यी सबै प्रक्रियाबाट बेखबर थिए । एकाएक जनता एकजुट भएर नयाँ शक्तिको उदय गराउँछन् र आफूहरू असान्दर्भिक हुन पुगिन्छ भन्ने हेक्का पुराना दलका नेताहरूले समयमै राख्न सकेनन् । उनीहरूले आफ्नो सिन्डिकेटले निरन्तरता पाइरहने कुरामा उनीहरू ढुक्क भए ।
कसरी तोडियो सिन्डिकेट ?
पञ्चतन्त्रको ‘तन्त्रभेद’ खण्डमा एउटा सानो चराले भ्यागुतो, झिँगा र सुगाको सहयोगमा विशाल हात्तीलाई पराजित गरेको कथा छ । यो आमनिर्वाचनमा नेपाली नागरिकहरूले पनि त्यही गरे, साना–साना समूहमा संगठित भएर राजनीतिक ‘सिन्डिकेट’ को विशाल हात्तीलाई परास्त गरे ।
कथाको सार
एउटा ठुलो जंगलमा एउटा विशाल र अहंकारी हात्ती थियो । एकदिन मदमस्त भएको उसले एउटा रूखको हाँगा जथाभावी भाँचिदियो, जहाँ एउटा चराको दम्पती (चट्याक) को गुँड थियो । हाँगासँगै गुँड भुइँमा खस्यो र चराका फुलहरू फुटेर नष्ट भए । आफ्नो सन्तानको मृत्युले चरा दम्पती निकै रोए । उनीहरूको रूवाइ सुनेर उनीहरूको मित्र काष्ठकुट्टक (काठफोरुवा चरा) त्यहाँ आयो । उसले सल्लाह दियो, ‘रोएर मात्र केही हुँदैन, यो अहंकारी हात्तीलाई सजाय दिनुपर्छ ।’ काष्ठकुट्टकले आफ्ना अन्य दुई मित्रहरू, एउटा झिँगा र एउटा भ्यागुतो (मेघनाद) सँग मद्दत माग्यो । यी चारवटा साना जीवहरूले मिलेर विशाल हात्तीलाई हराउने एउटा गुरूयोजना बनाए ।
पहिलो चरणमा झिँगाले हात्तीको कानमा गएर निकै मधुर स्वरमा गुनगुन गर्यो । त्यो धुनमा भुलेर हात्तीले आनन्दले आफ्ना आँखाहरू चिम्लियो । दोस्रो चरणमा हात्तीले आँखा चिम्लने बित्तिकै कठफोरुवाले आफ्नो तिखो ठुँगले हात्तीका दुवै आँखाहरू फुटाइदियो । हात्ती अन्धो भयो र पीडाले छटपटाउँदै पानी खोज्न थाल्यो । अन्धो हात्ती तिर्खाले व्याकुल भएर पानी खोज्दै भौतारिरहेको थियो । तब भ्यागुतो एउटा ठुलो भिरको खाडलको छेउमा बसेर ‘ट्वार–ट्वार’ कराउन थाल्यो । हात्तीलाई लाग्यो, ‘भ्यागुतो कराइरहेको छ, पक्कै यहाँ ठुलो पोखरी हुनुपर्छ ।’
हात्ती त्यही आवाजको पछि लाग्यो र सिधै भिरबाट खसेर मर्यो । यसरी साना जीवहरूको एकताले एउटा विशाल र शक्तिशाली हात्तीको अन्त्य गर्यो ।
यो कथाले ‘शक्ति संख्यामा होइन, संगठित सहभागितामा हुन्छ’ भन्ने पाठ सिकाउँछ । चरा, झिँगा र भ्यागुतो ः आमनागरिक, जो एक्ला–एक्लै हुँदा कमजोर देखिन्छन् तर जब एउटै ‘एजेन्डा’ मा संगठित हुन्छन्, तब जस्तोसुकै विशाल सत्तालाई पनि ढाल्न सक्छन् । यो निर्वाचनमा रास्वपाको उदय र पुराना शक्तिको पतन ठ्याक्कै यही कथाको आधुनिक संस्करण हो, जहाँ ससाना समूहमा रहेका सचेत नागरिकहरूले ‘डिजिटल र वैचारिक एकता’ मार्फत राजनीतिक ‘हात्ती’ हरूलाई चुनौती दिए ।
तर, लोकतन्त्रमा चुनौती सधैँ रहन्छ । म्याक्स वेबरले भनेको ‘करिस्माटिक नेतृत्व’ को एउटा जोखिम यो हुन्छ कि नागरिकहरू पुनः नयाँ नेतृत्वको पूजा गर्न थाल्छन् र आफ्नो ‘सहभागी’ भूमिका बिर्सिन्छन् । रास्वपा वा कुनै पनि नयाँ शक्तिले पनि यदि डेलिभरी दिन सकेन भने, सचेत नागरिकले उनीहरूलाई पनि उस्तै ढंगले विस्थापित गर्नेछन् ।
लोकतन्त्रको सफलता केवल चुनाव जित्ने र सरकार बनाउने प्रक्रियामा मात्र निर्भर हुँदैन । यो त नागरिकको चेतना, निरन्तर सहभागिता र उत्तरदायित्वमा आधारित हुन्छ । यो आमनिर्वाचनले नेपालमा ‘दर्शक नागरिक’ को युग समाप्त भएको घोषणा गरिदिएको छ । अबको नागरिक ‘भोटर’ मात्र होइन, ‘अडिटर’ (लेखापरीक्षक) पनि हो । यदि हामी पुनः ‘दर्शक’ मात्र बस्ने हो भने लोकतन्त्र औपचारिकतामा सीमित हुन्छ र नयाँ शक्तिहरू पनि पुरानै लयमा फर्किन सक्छन् । त्यसैले, आजको आवश्यकता ‘सचेत, सक्रिय र जिम्मेवार सहभागी नागरिक’ हो । लोकतन्त्रको सुन्दरता मतपत्र खसाल्नुमा मात्र होइन, खसालेको मतले सही दिशा लियो कि लिएन भनेर निरन्तर निगरानी गर्नु र सहभागी हुनुमा छ । यो निर्वाचनले दिएको सबैभन्दा ठुलो सन्देश यही हो, ‘जब नागरिक उठ्छन्, तब मात्र लोकतन्त्र ब्युँझिन्छ ।’ (सौर्यअनलाइनबाट साभार)
११ चैत्र २०८२, बुधबार १५:१८