लिपिङ बजारमा पहिरोः तीन घरमा क्षति, जनधनको क्षति नभएको पुष्टि

जनतापत्र,भोटेकोसी (सिन्धुपाल्चोक)।
लगातारको अविरल वर्षासँगै भोटेकोसी गाउँपालिका–२ अन्तर्गत पर्ने लिपिङ बजारमा पहाडबाट खसेको ढुङ्गाले तीन घरमा क्षति पु¥याएको छ। मिति २०८२ साल असार ३ गते रातिको समयमा भएको यस घटनाले स्थानीय बासिन्दाहरूमा त्रासको वातावरण सिर्जना गरेको छ। प्राप्त विवरणअनुसार, स्थानीय पदम श्रेष्ठको दुई तले पक्की घरको एक सटर र अगाडि रहेको प्यासेज भाग आंशिक रूपमा क्षतिग्रस्त भएको छ। सोही स्थानमा बसोबास गर्दै आएकी फुलमाया तामाङको दुई तले पक्की घरको एक सटर पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। त्यस्तै, सुनिता श्रेष्ठको जस्ताले निर्माण गरिएको एक तले घर पूर्ण रूपमा भत्किएको इलाका प्रहरी कार्यालय कोदारीले जानकारी दिएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको छ भने प्रारम्भिक सुरक्षात्मक उपायहरू समेत थालिएको जनाइएको छ। संभावित थप जोखिमलाई मध्यनजर गर्दै, प्रभावित क्षेत्र वरिपरिका घरधनीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सौभाग्यवश, घटनामा कुनै पनि मानवीय क्षति नभएको पुष्टि गरिएको छ। तर, लगातार वर्षा जारी रहेकाले पहिरोको जोखिम अझै कायम रहेको बताइएको छ। सुरक्षाका दृष्टिले आवश्यक स्थानान्तरण तथा उद्धार कार्यका लागि स्थानीय तह र सुरक्षा निकायहरू सक्रिय रहेका छन्। स्थानीय बासिन्दाहरूले तत्काल राहत र दीर्घकालीन समाधानको माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएका छन्। घटनाको थप विवरण तथा क्षतिको मूल्यांकन कार्य हाल पनि जारी रहेको छ।

४ असार २०८२, बुधबार १८:३६