लागूपदार्थविरुद्धको विद्यालय तथा समुदायस्तरीय जनचेतनामूलक अभियान चौतारामा सुरु

जनतापत्र,चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा लागूपदार्थविरुद्धको विद्यालय तथा समुदायस्तरीय जनचेतनामूलक अभियान सुरु गरिएको छ।
नगरपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा नगर बाल सञ्जालले अभियानको थालनी गरेको हो।
अभियानको पहिलो दिन वडा नम्बर १ स्थित सेतिदेवी माविमा कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा लागूपदार्थको असर, सामाजिक परिणाम र नकारात्मक प्रभावबारे विद्यार्थी, शिक्षक तथा सरोकारवालासँग छलफल गरिएको थियो।
कार्यक्रम उद्घाटन गर्दै नगर उपप्रमुख सीता थापाले बालबालिका कुलतमा नफसी उज्ज्वल भविष्य निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो। “विद्यालयस्तरमै चेतना फैलाएर हाम्रो नगरलाई लागू पदार्थ मुक्त बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको बताउनु भएको छ ।
प्रशिक्षकका रूपमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादव र सहायक हवलदार कन्चन सुर्खेती सहभागी थिए। उनीहरूले लागूपदार्थसम्बन्धी कानुनी व्यवस्था, दुष्प्रभाव र रोकथामका उपायहरूबारे विद्यार्थीलाई जानकारी गराएका थिए।

महिला विकास निरीक्षक सुमित्रा भट्टराईले यो अभियानले बालबालिकामा चेतना वृद्धि गरी उनीहरूको भविष्य निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
कक्षा ९ र १० का विद्यार्थी लक्षित अभियानमा वडा अध्यक्ष युवलाल श्रेष्ठ, नगर बाल सञ्जाल अध्यक्ष सुजन श्रेष्ठ, सह–सचिव बुद्ध थापा र सेतीदेवी माविका प्रधानाध्यापक सविन दंगालको समेत उपस्थिति रहेको थियो।
नगरपालिकाले अभियानलाई अन्य विद्यालयमा पनि विस्तार गर्ने जनाएको छ।

२१ बैशाख २०८२, आईतवार २२:११