/*php the_title();*/?>

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–६ का शोबित देउजाले रुस–युक्रेन युद्धबाट जीवित फर्किएपछि देवी शक्तिको प्रतीक पाल्चोक भगवती मन्दिरमा ११ केजी तौलको घण्ट दान गर्नुभएको छ। रुसी सेनामा भर्ती भई करिब एक वर्षसम्म भीषण युद्धको सामना गरेका देउजाले युद्धको मैदानमै घाइते भएर ९ दिनसम्म पानीबिना असह्य कठिनाइ सहनु परेको बताउनुभयो। आफ्नै सहकर्मीहरू आँखैअगाडि ज्यान गुमाउँदा पनि अदम्य साहस र आत्मबलका कारण उहाँ सकुशल स्वदेश फर्किन सफल हुनुभयो। धार्मिक श्रद्धा र मानवताप्रतिको आस्थाबाट प्रेरित देउजाले पाल्चोक भगवतीलाई घण्ट अर्पण गर्नुभएको हो। उहाँको यो कदमले युद्धबाट बाँचेर फर्किएपछि पनि “जीवन रहँदासम्म आस्था र मानवता कहिल्यै मर्दैन” भन्ने सन्देश दिएको सहभागीहरूले बताए। बिहीवार सम्पन्न घण्ट दान कार्यक्रममा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, स्थानीय श्रद्धालु, बुद्धिजीवी तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मन्दिर परिसर उत्साहमय वातावरणले गुञ्जायमान बनेको थियो। स्थानीय बासिन्दा र समाजसेवीहरूले देउजाको अदम्य साहस, श्रद्धा र समर्पणको उच्च प्रशंसा गर्दै उहाँप्रति गर्व व्यक्त गरेका छन्।
१५ कार्तिक २०८२, शुक्रबार ११:१३