/*php the_title();*/?>

सुनिता रखाल सुकुटे ।
सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा माघ १ गतेदेखि जारी सातौं राष्ट्रिय महिला तथा आठौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले विजयी हासिल गरेको छ भने पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लबकै चन्द्रबहादुर कुँवर र सफल बि.क.को जोडी विजयी भएको छ ।
राष्ट्रिय बिच भलिबलमा, महिला तर्फ आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई २१–१९,२१–१० को सेटमा हराउँदै कमला र मनिषाको जोडीले जीतेकोे हो भने पुरुष तर्फ नेपाल एपीएफ क्लबका बलिराम चौधरी र रमेश वि.क.को जोडीलाई २१–१८,१४–२१,८–१५ को सेटमा हराउँदै चन्द्र र सफलको जोडीले जीतेको हो ।
महिला तर्फ विजेता कमला र मनिषाको जोडीले साउनमा भुटानमा भएको काभा बिच भलिबलमा समेत स्वर्ण पदक जितेको थियो ।
एपिएफ र आर्मीको जोडी तेस्रो
यस खेलमा नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका जोडी राष्ट्रिय बिच भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।
महिलातर्फ एपिएफ क्लबका निरुता ठगुन्ना र नेविका चौधरीको जोडी तथा पुरुषतर्फ टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो भएको हो ।
प्रतियोगितामा सातै प्रदेशबाट र विभागीय टिमहरु सहित ३५ टिमको सहभागिता रहेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताको महिला र पुरुष दुवै इभेन्ट तर्फका बिजेता टिमलाई छुट्टाछुट्टै नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै उपविजेता टिमलाई नगद २५ हजार,तेस्रो हुने टिमलाई नगद १५ हजार र सान्त्वना प्राप्त गर्ने टिमलाई नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम समापन समारोहका प्रमुख अतिथि चौतारा सागाँचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अन्तर्गत रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना गरेको हो ।
सातौं राष्ट्रिय महिला तथा आठौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको माघ १ गते पुर्व प्रधानमन्त्री एवं नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घघाटन गरेका थिए ।
५ माघ २०८१, शनिबार १५:३०