राष्ट्रियसभा निर्वाचनमा एमालेका ६ अनुहार

जनतापत्र,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरू अन्तिम गरेका हुन्।

एमालेका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरिएको छ। सहमति अनुसार एमालेले ७ सिट पाउने भए पनि हालसम्म ६ उम्मेदवार मात्र चयन गरिएको र एक जना उम्मेदवार छनोट हुन बाँकी रहेको पार्टी स्रोतले जनाएको छ।

राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार कांग्रेस र एमालेले ७–७ सिट, नेकपा (माओवादी केन्द्र) ले ३ सिट र जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट लिने समझदारी भएको बताइएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यस निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुने कुल १८ सदस्य चयन गरिनेछ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। यसअघि आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो भने दाबी–विरोधपछि अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ।

आयोगले पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।

२३ पुष २०८२, बुधबार ०९:०१