/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
रामेछाप सदरमुकाम मन्थली नजिक भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये हालसम्म १० जनाको पहिचान खुलेको छ। मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। केशवसिंह धामीका अनुसार मृत्यु हुनेहरूमा लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ रहेका छन्।

त्यस्तै, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत तथा सोही क्षेत्रकी ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङको पनि पहिचान भएको छ। बाँकी दुई जनाको सनाखत हुन बाँकी रहेको अस्पतालले जनाएको छ। रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार दुर्घटनामा बस चालकसहित ८ जना घाइते भएका छन्।

घाइतेहरूको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य यात्रुको खोजतलास कार्य जारी रहेको जनाइएको छ। काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान मन्थली नगरपालिका–६ मसानटार नजिकै सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको थियो।
२८ माघ २०८२, मंगलवार १७:२५