
जनतापत्र,सिन्धुपाल्चोक ।
स्वास्थ्य बीमा बोर्ड ले “राज्यको लगानी नागरिकको योगदान–स्वास्थ्य बीमा साझा अभियान” भन्ने नारासहित दशौं स्वास्थ्य बीमा दिवस २०८२ सम्पन्न गरेको छ। यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्लाका १२ वटै पालिकाबाट प्रतिनिधिमूलक सहभागिता रहेको कार्यक्रममा दशौँ स्वास्थ्य बीमा स्थापना दिवस चौतारा स्थित जिल्ला स्वास्थ्य बीमा कार्यालयमा पनि मनाइएको थियो। कार्यक्रममा विभिन्न सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो। दिवसका अवसरमा आयोजित कार्यक्रममा बोर्डले पछिल्लो एक दशकमा स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको पहुँच र सेवा उपयोगमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।

हाल बीमित संख्या ५१ लाख ७० हजारभन्दा बढी पुगेको र कार्यक्रम ७७ वटै जिल्लाका ७५० स्थानीय तहमा विस्तार भइसकेको जानकारी दिइयो। बोर्डका कार्यकारी निर्देशक डा। कृष्ण प्रसाद पौडेलले स्वास्थ्य सेवा प्रदायकसँग सहकार्य गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। हाल ५०५ स्वास्थ्य सेवा प्रदायक संस्था कार्यक्रममा आबद्ध रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहले स्वास्थ्य बीमालाई दिगो र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन। कार्यक्रमको अन्त्यमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले सेवा विस्तारका बाबजुद वित्तीय चुनौती कायम रहेको उल्लेख गर्दै कार्यक्रमलाई थप सुदृढ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएको हो।
२५ चैत्र २०८२, बुधबार १८:२९