“राजनीतिबाट समाजसेवातर्फ: एक महिलाको संघर्षयात्रा”

सामाजिक तथा राजनैतिक ब्याक्तित्व ,सुनिता देउजासग पत्रकार टीका सुबेदिको सम्बाद –

तपाईंको राजनीतिक र सामाजिक यात्रा कसरी सुरु भयो? यसको प्रेरणा के थियो?
म गाउँमा विद्यालय पढ्दादेखि नै राजनीतिक सम्पर्कमा थिएँ। कक्षा ६ पढ्दा नै विद्यालय प्रा.क.मा आबद्ध भएँ र कक्षा ८ मा प्रा.क. सचिवको जिम्मेवारी पाएँ। त्यसबेला एमालेका नेताहरू कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा र गोकुल बास्कोटाजस्ता व्यक्तित्वहरू विद्यालयमा प्रशिक्षण दिन आउनुहुन्थ्यो। पार्टीका बैठकहरू प्रायः हाम्रै घरमा हुन्थे, खाना पनि हाम्रै घरमा खाने गर्नुहुन्थ्यो।
दाइहरूको राजनीतिक गतिविधिमा सहभागी हुन्थेँ, भाउजुहरूसँग रातिको बैठकहरूमा जान्थेँ। यसरी बच्चै उमेरमा थुप्रै कार्यक्रमहरूमा सहभागी हुन पाएँ। यसको प्रमुख श्रेय मेरा गुरु शिवप्रसाद भुर्तेल र गणेश पराजुलीलाई दिन चाहन्छु।


सामाजिक अभियन्ताको रूपमा काम गर्दा तपाईंले भोग्नुपरेका प्रमुख चुनौतीहरू के–के थिए?
म सानैदेखि समूहमा रमाउने स्वभावकी हुँ। चाहे घाँस काट्न जानुहोस्, चाहे बाख्रा चराउन, म सधैं समूहमा सक्रिय हुन्थेँ। विवाहपछि ‘सूर्यमुखी महिला बचत समूह’ गठन गरियो र झण्डै आठ वर्षसम्म अध्यक्षको भूमिका निर्वाह गरेँ। त्यसैगरी ‘तेर्से सामुदायिक कृषि सहकारी संस्था’को पनि दुई कार्यकालसम्म अध्यक्ष बन्ने अवसर पाएँ।
यी सबै काम गर्दा महिला अध्यक्षको भूमिका स्वीकार गराउन सजिलो थिएन। पारिवारिक जिम्मेवारी, बालबालिकाको पढाइ, घरायसी कामकाजसँगै सामाजिक भूमिकाहरू सँगै सम्हाल्नु ठूलो चुनौती थियो। २०७६ सालमा ममाथि परेको पारिवारिक बज्रपात पनि सामान्य थिएन। तर म कहिल्यै पछि हटिनँ, जस्तोसुकै परिस्थितिमा पनि सामाजिक जिम्मेवारी पूरा गरिरहेँ।


महिलाहरूको सशक्तीकरणका लागि तपाईंले गरेका प्रमुख पहलहरू के हुन्?
म जहाँ जान्छु, जससँगै भेटघाट हुन्छ, महिला भएकै नाताले आत्मबल जगाउन सन्देश दिन्छु – “हामी कोही पनि पुरुषभन्दा कम छैनौं” भनेर। महिलालाई आर्थिक रूपमा सक्षम बनाउने कुरामा मेरो जोड हुन्छ। चाहे कुखुरा, बाख्रा पाल्ने होस् वा साना व्यवसाय, महिलाहरूलाई आम्दानीमुखी बनाउन उत्प्रेरित गर्छु।
महिला समूह, सहकारी संस्था, एकल महिला समूह वा पार्टीका कार्यक्रममा सहभागी हुँदा सधैं आर्थिक आत्मनिर्भरतालाई प्राथमिकतामा राख्ने गर्छु, किनभने आर्थिक रूपमा कमजोर महिलाहरू नै सामाजिक दृष्टिले अपहेलित हुने गरेका छन्।


युवा पुस्तालाई राजनीतिमा सक्रिय बनाउन तपाईंले के सल्लाह दिनुहुन्छ?
आजका युवामा राजनीतिप्रतिको आस्था घट्दै गएको देखिन्छ। देशको अवस्थाले उनीहरूमा निराशा फैलिएको छ।
तर बुढा पुस्तालाई गाली गरेर होइन, जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ।
बुढा नेताहरूले आफ्नो समयमा लोकतन्त्र ल्याउन संघर्ष गरेका हुन्, अब नयाँ पुस्ताले तिनको अनुभवलाई सम्मान गर्दै, आफ्ना माग र परिवर्तनका दृष्टिकोण लिएर अघि बढ्नुपर्छ।
एमाले पार्टीभित्र तपाईंको भूमिका र अनुभव कस्तो छ?
हाल म एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघको प्रदेश कमिटी सदस्यको रूपमा क्रियाशील छु। म जुनसुकै जिम्मेवारीमा रहँदा पनि नतिजामुखी काम गर्नुपर्ने मान्यता राख्छु।
म पार्टीले दिएको वडाको इन्चार्जको भूमिकामा छु, र कामको हिसाबले हेर्दा हाम्रो वडा जिल्लाका १०३ वटामध्ये अग्रस्थानमा रहेको विश्वास छ।
यसमा वडाका सबै साथीहरूको सामूहिक प्रयास छ, तर मेरो संयोजनको पनि केही योगदान छ भन्ने महसुस हुन्छ।
सामाजिक न्याय र समानताको पक्षमा तपाईंका आगामी योजनाहरू के छन्?
व्यक्तिगत योजनाभन्दा पनि म संगठित स्थानहरूमा छु, ती सबै ठाउँमा लैङ्गिक, जातीय, आर्थिक विभेदविरुद्ध आवाज उठाउनेछु।
महिला सशक्तीकरण, समान अवसर र समावेशी समाज निर्माण मेरो प्रमुख उद्देश्य हो।


तपाईंको दृष्टिमा सिन्धुपाल्चोकको मुख्य सामाजिक समस्या के हो र समाधान कसरी सम्भव छ?
सिन्धुपाल्चोकमा आज पनि महिलाप्रतिको दृष्टिकोण सकारात्मक छैन। महिला सक्षम भए पनि पुरुषभन्दा कम आँक्ने प्रवृत्ति कायमै छ।
राजनीतिक दलदेखि सामाजिक संस्थासम्म महिलालाई नेतृत्व तहमा लैजाने प्रवृत्ति न्यून छ। जातीय विभेद, उच-नीचको व्यवहार, गरिब-धनीबीचको खाडल बढ्दो छ।
यी समस्याको समाधान राजनीतिक दलहरूले सामाजिक न्याय र समानतालाई मुख्य एजेन्डा बनाएर मात्र सम्भव छ। जबसम्म सामाजिक समस्या समाधान हुँदैन, चुनाव जितेर मात्रै केही अर्थ रहँदैन।


महिलाहरूको राजनीतिमा सहभागिता अझै न्यून देखिन्छ, यसलाई कसरी परिवर्तन गर्न सकिन्छ?
राजनीतिक दलहरूले महिलाको सहभागितालाई आफ्नो मूल एजेन्डा बनाउनुपर्छ। महिलालाई आर्थिक रूपमा सक्षम बनाउने, राजनीतिक भूमिकामा राख्ने, उपप्रमुख मात्र नभई प्रमुख पदमा समेत विश्वास गर्ने संस्कार बसाल्नुपर्छ।
महिलाहरूले पनि डर र संकोच त्यागेर, जिम्मेवारी लिएर अघि बढ्न आवश्यक छ।

२१ जेष्ठ २०८२, मंगलवार २०:१२