रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

जनतापत्र,सिन्धुपाल्चोक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको छ। न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। अदालतको आदेशअनुसार लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएपछि रिहा हुने भएका छन्। उहाँ रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहनुभएको थियो।

उक्त प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको थियो। चार भागमध्ये आफ्नो भाग बराबरको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गर्दा जिल्ला अदालत रुपन्देहीले यसअघि रिहा गर्न अस्वीकार गरेको थियो। सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीले पनि बिगो बराबरको जमानत पेस गरेका थिए। तर दुवै प्रतिवादीको हकमा भागबण्डा अनुसार कति बिगो पर्ने भन्ने यकिन नभएको भन्दै जिल्ला अदालतले रिहा गर्न नमिल्ने आदेश दिएको थियो। बिगोबमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दर्ता भएपछि अदालतले दुवै मुद्दा एकसाथ राखी सुनुवाइ गरेको हो। हाल लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा रहनुभएको छ।

३ पुष २०८२, बिहीबार १७:५२