/*php the_title();*/?>

पुस्करराज जोशी
मौसम परिवर्तनसँगै जाडो–गर्मीको उतारचढ़ावका कारण रुघा, खोकी, टाउको दुखाइजस्ता स्वास्थ्य समस्याहरू बढ्न थालेका छन्। बिहान र बेलुका चिसो बढ्दा शरीरले अनुकूलन गर्न गाह्रो हुन्छ भने दिउँसोको घामले तापक्रम एक्कासी बढ्दा शरीरमा असन्तुलन सिर्जना हुन सक्छ। जाडो मौसमले शरीरको तापक्रम घटाउने र भाइरस तथा ब्याक्टेरियाका संक्रमणको जोखिम बढाउने गर्छ। यसले रुघाखोकी, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुखाइ, खोकी र थकानजस्ता समस्या निम्त्याउँछ, विशेषगरी कमजोर प्रतिरक्षा भएका व्यक्तिमा।
चिसो खानेकुरा र मौसम परिवर्तनले यी लक्षणलाई झनै बढावा दिन सक्छ, यसले शरीरलाई कमजोर बनाउने मात्र होइन, हाम्रो दैनिक गतिविधिमा पनि बाधा पुर्याउँछ।। यस्तो समयमा सन्तुलित खानपान, न्यानो कपडाको प्रयोग र घरेलु उपाय अपनाएर समस्या समाधान गर्न सकिन्छ। सधैं औषधिमा निर्भर हुनु उचित नभएकाले रुघाखोकी लागेमा तुरुन्तै औषधि खानु हुँदैन। प्राकृतिक तरिकाबाट शरीरलाई बलियो बनाउनु महत्वपूर्ण छ।
रुघाखोकीका लक्षणहरू
नाक बग्ने वा भरिएको महसुस हुनु
हाछ्युँ
घाँटीमा पोलाई खसखस हुनु
हल्का तथा गम्भिर खोकी
मांसपेशी र जोर्नीमा दुखाइ
हल्का ज्वरो
चिसो संक्रमणले शरीरलाई कमजोर बनाएर जटिलताहरू निम्त्याउन सक्छ। रुघाखोकीको अन्तिम चरणमा लक्षणहरू केही कम भएपनि लगातार खोकीको समस्या देखिन सक्छ। यदि लक्षणहरू दस दिनभन्दा बढी रहन्छन् भने डाक्टरसँग परामर्श गर्नुपर्छ।
रुघाखोकिबाट बच्ने प्रभावकारी घरेलु उपचारहरू
१. तातोपानी पिउने
रुघाखोकी हुँदा शरीर हाइड्रेटेड राख्न तातो पानी पिउनु उपयुक्त हुन्छ।
यसले सुख्खा खोकी र घाँटीको पोलाई कम गर्छ।
सुकमेल, मरिच, ल्वाङ, र अदुवाको पाउडर तातो पानीमा उमालेर पिउनुहोस्।
यो उपायले खोकी र नाक बन्द हुने समस्या कम गर्न मद्दत गर्दछ।
२. अदुवा चिया
अदुवा रुघाखोकीको लागि एक उत्कृष्ट औषधि हो।
एक कप पानीमा थोरै अदुवा र तुलसीको पात उमालेर पिउनुहोस्।
यसले घाँटी दुखाइ कम गर्छ र श्वसन प्रणालीलाई राहत दिन्छ।
३. मह र कागती
तातो पानीमा मह र कागती मिलाएर पिउनुहोस्।
महले खोकी कम गर्छ र कागतीले प्रतिरोधात्मक क्षमता बढाउँछ।
४. लसुन
लसुनमा एन्टीभाइरल र एन्टीब्याक्टेरियल गुण हुन्छन्।
२–३ वटा लसुनलाई तातो पानीमा उमालेर पिउनुहोस्।
५. बेसार दुध
एक गिलास तातो दुधमा आधा चम्चा बेसार (हल्दी) मिसाएर पिउनुहोस्।
यसले संक्रमण कम गर्न मद्दत गर्दछ।
६. नुनपानीले कुल्ला
नुनपानीले कुल्ला गर्दा घाँटी दुखाइ कम हुन्छ।
एक गिलास तातो पानीमा आधा चम्चा नुन मिलाएर दिनमा २–३ पटक कुल्ला गर्नुहोस्।
७. वाफ लिने
तातो पानीको वाफ लिनुहोस्।
वाफले नाक र श्वासनली सफा गर्न मद्दत गर्दछ।
८. अमला सेवन
अमला भिटामिन सीले भरिपूर्ण छ, जसले प्रतिरोधात्मक क्षमता बढाउँछ।
ताजा अमला वा अमलाको जुस पिउनुहोस्।
भिटामिन सी युक्त फलफूल (सुन्तला, किवी, अमला) खानुहोस्।
९. तुलसीको पातको प्रयोग
५–६ वटा तुलसीको पातलाई पानीमा उमालेर पिउनुहोस्।
तुलसीले संक्रमण कम गर्न सहयोग गर्छ।
१०. मसला मिश्रण
चिसो हावा र पानीबाट बच्न न्यानो कपडा लगाउनुहोस्।
हात र खुट्टाको विशेष हेरचाह गर्नुहोस्।
११ सन्तुलित खानपान
तातो सुपजस्ता झोलयुक्त खाना खाने बानी बसाल्नुहोस्।
मसालेदार र तारेको खाना कम सेवन गर्नुहोस्।
हरियो तरकारी, बदाम र प्रोटिनयुक्त खानेकुराले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।
दैनिक रूपमा प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुहोस्।
१२ नियमित व्यायाम
जाडोमा सामान्यत मानिसहरू निष्क्रिय हुन्छन्। तर, हल्का व्यायामले शरीरलाई तातो राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
१३ चिसोबाट जोगिने
चिसो हावा र पानीबाट बच्न न्यानो कपडा लगाउनुहोस्।
हात र खुट्टाको विशेष हेरचाह गर्नुहोस्।
चिसो वातावरणमा ध्यान दिनुहोस् र न्यानो लुगा लगाउनुहोस्।
१४ सरसफाइ
हात धुने बानीले संक्रमणको जोखिम कम गर्छ।
हाछ्युँ वा खोक्दा रुमालको प्रयोग गर्नुहोस्।
१५ धुम्रपान नगर्ने
धूम्रपान नगर्ने धूम्रपानले फोक्सो र श्वासप्रश्वास प्रणाली कमजोर बनाउँछ। यसले चिसोको जोखिम थप बढाउँछ।
यस्ता घरेलु उपायहरूले हल्का र मध्यम प्रकारको रुघाखोकीमा ठूलो राहत दिन्छ। तर, समस्या गम्भीर भएमा वा लक्षण लामो समयसम्म रहेमा चिकित्सकको सल्लाह लिनु अत्यन्त जरुरी छ।
(जोशी हेल्थ असिस्टेन्ट हुन्) (साभार स्वास्थ्य खवरबाट)
९ फाल्गुन २०८१, शुक्रबार ०७:०५