मोहनबहादुर गिरीद्वारा तीन विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

जनतापत्र, कुञ्चोक सिन्धुपाल्चोक ।
शैक्षिक अभियन्ता मोहनबहादुर गिरीले इन्द्रावती गाउँपालिका वडा नम्बर–३ का तीन विद्यालयमा एकैदिन न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नुभएको छ। शिंहमती माध्यमिक विद्यालय, सूर्यकिरण आधारभूत विद्यालय र सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकलाई न्यानो कपडा र तातो–चिसो पानीका लागि वाटर डिस्पेन्सर प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर–३ का वडा अध्यक्ष भिमसेन थापाले मोहन गिरीले यसअघि पनि वडाका विभिन्न विद्यालयमा सहयोग गर्दै आएको उल्लेख गर्दै अभियानको प्रशंसा गर्नुभयो। उहाँले गिरीले आफ्ना जीवनका कठिन अनुभव विद्यार्थीहरूले भोग्न नपरोस् भन्ने उद्देश्यले थालेको यो अभियान प्रेरणादायी रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै शैक्षिक अभियन्ता मोहनबहादुर गिरीले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई सहयोग गर्न आफू सधैं तयार रहेको बताउनुभयो। केही स्थानमा सहयोगको उचित सदुपयोग नभएको गुनासो गर्दै उहाँले उपलब्ध सामग्रीको संरक्षण र सही प्रयोग गर्न आग्रह गर्नुभयो। त्यसैगरी विशेष अतिथि श्यामबहादुर गिरीले २०७९ सालदेखि सुरु गरिएको यस अभियानअन्तर्गत हालसम्म ३८ वटा विद्यालयमा शैक्षिक तथा सहयोगी सामग्री वितरण भइसकेको जानकारी दिनुभयो। अभियानको उद्देश्य भावी पुस्ताको उज्ज्वल भविष्य निर्माण गर्नु रहेको उहाँको भनाइ थियो। शिंहमती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

११ पुष २०८२, शुक्रबार २१:१७