मैत्री बचत र साना किसान सहकारीको साधारणसभा सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
मैत्री बचत तथा ऋण सहकारीको १६औँ र मैत्री साना किसान कृषि सहकारीको छैटौँ वार्षिक साधारणसभा चौतारा साँगाचोकगढी–७ मा सम्पन्न भयो। सोही अवसरमा प्रदेश सरकार र नगरपालिकाको सहयोगमा बनेको सहकारी भवनको उद्घाटन पनि गरिएको छ । कार्यक्रम पूर्वमन्त्री तथा प्रदेश सांसद युवराज दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। दुलालले सहकारीको व्यवस्थापन बलियो बनाउन विषयविज्ञ तथा अनुभवी व्यक्तिलाई नेतृत्व दिनुपर्ने आवश्यकता औंल्याए।
नगरपालिकाका सहकारी शाखा प्रमुख दुर्गाप्रसाद ढंगेलले सहकारी सेयर सदस्यको अधिकार सुरक्षित गर्ने संस्था भएको बताए।

पूर्वअध्यक्ष बालकृष्ण लामिछानेले सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्दै अघि बढिरहेको उल्लेख गरे। साना किसान सहकारीका अध्यक्ष सुव्वाप्रसाद दुलालले ७७० सेयर सदस्यबाट ८६ लाख ४० हजार पुँजी संकलन भएको र यस वर्ष ३ करोड १२ लाख ७० हजार रुपैयाँ ऋण लगानी भएको जानकारी दिए। सहकारीले दिवाखाजा, ग्रामीण उद्यम तथा लघु ऋण कार्यक्रम सञ्चालन गर्दै आएको छ। सचिव कमलप्रसाद दुलालका अनुसार भवनबाट दुवै सहकारीको कार्यालय सञ्चालन भइरहेको छ र आगामी दिनमा एकीकृत रूपमा अघि बढ्ने योजना रहेको छ। साधारणसभामा सेयर सदस्यसहित विभिन्न स्थानीय प्रतिनिधि र सरोकारवाला संस्थाको सहभागिता थियो।

२७ पुष २०८२, आईतवार २१:१९