/*php the_title();*/?>


जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–७ ले हरितालिका तीजको अवसरमा आयोजना गरेको खुला माध्यमिक स्तरीय महिला गायन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर उप–प्रमुख उमा प्रधान प्रमुख आतिथ्य रहनुभएको थियो। उहाँले महिलाको क्षमता र विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्यले गरिएको यस्तो कार्यक्रमले संस्कृति संरक्षणसँगै महिला सशक्तिकरणमा टेवा पुगोस् भन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार प्रतियोगिताले विद्यार्थीलाई मौलिक संस्कृति र लोक परम्परासँग जोड्ने मात्र नभई भविष्यमा संगीतप्रति चेतना जगाउने कार्य गर्नेछ। कार्यक्रमका विशेष अतिथि पूर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले तीज पर्व महिलाको अधिकार, आत्मसम्मान र संस्कृतिको पहिचानसँग जोडिएको भन्दै यस्ता प्रतियोगिताले हाम्रो मौलिकता नयाँ पुस्तामा हस्तान्तरण गर्ने धारणा राख्नुभयो।त्यसैगरी सभाध्यक्ष वडा अध्यक्ष पासाङ तामाङले तीजलाई प्रेम, ऐक्यबद्धता र महिलाको आत्मीयताको पर्व भन्दै सहभागी दिदीबहिनी र विद्यार्थीको प्रस्तुति वडाको गौरव भएको उल्लेख गर्नुभयो।
१२ भाद्र २०८२, बिहीबार १९:५२