मेलम्ची–७, दुवाचौरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, एक हजारभन्दा बढी लाभान्वित


जनतापत्र, सिन्धुपाल्चोक ।

मेलम्ची नगरपालिका वडा नं. ७, दुवाचौरमा एकदिने एकीकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा, मेलम्ची नगरपालिका र वडा नं. ७ कार्यालयको सहकार्यमा सम्पन्न उक्त शिविरमा एक हजारभन्दा बढी स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा बालबालिका, महिला, वृद्धवृद्धा र युवासहित सबै उमेर समूहलाई लक्षित गरी २० भन्दा बढी विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो। बिहानैदेखि शिविरस्थलमा उल्लेखनीय भीड देखिएको थियो।

शिविरमा हाडजोर्नी, छाला, नशा, यौन रोग, स्त्री तथा प्रसूति सेवा, आँखा परीक्षण, पोषण मूल्याङ्कन, मानसिक स्वास्थ्य परीक्षण, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा, अल्ट्रासाउन्ड, प्रयोगशाला परीक्षण, क्षयरोग स्क्रिनिङ, परिवार नियोजन, स्वास्थ्य शिक्षा र सन्तुलित आहार सम्बन्धी परामर्श लगायतका सेवा दिइएको थियो।

शिविरकै अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले दुवाचौर स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरे। मन्त्री थापाले यस्तो सेवा गाउँगाउँसम्म पुर्‍याउने सरकारको उद्देश्य रहेको बताउँदै भने,

“आज दुवाचौरमा भिडियो एक्सरे मेसिनको जडानले हामी स्वास्थ्य पहुँच विस्तारमा थप अघि बढ्यौँ।”

उक्त एक्सरे मेसिनको जडानसँगै दुवाचौरमा पहिलोपटक एक्सरे तथा अल्ट्रासाउन्ड सेवा सुरु हुन लागेको हो। मन्त्री थापाले यस्ता शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए।

कार्यक्रमका प्रमुख अतिथि तथा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जनताको घरदैलोमै विशेषज्ञ सेवा पुर्‍याउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे। उनले भने,

“स्वास्थ्य सेवा पहुँचसँग मात्र होइन, गरिमासँग पनि जोडिएको विषय हो। अब विशेषज्ञ सेवाहरू जनताको आँगनमै ल्याउनु आवश्यक छ।”

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाका सबै वडामा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताए। उनले जनताको उत्साहपूर्ण सहभागिताले कार्यक्रम सफल बनेको उल्लेख गर्दै,

“यस्ता शिविरलाई थप प्रभावकारी र नियमित बनाइनेछ,” भने।

वडा अध्यक्ष पासाङ दोङले स्वास्थ्य सेवा अब वडामै उपलब्ध हुन थालेकोमा खुसी व्यक्त गर्दै स्थानीयवासीलाई समयमै सेवा लिन आग्रह गरे।

“आजको शिविर ऐतिहासिक भयो। वडावासीले आफ्नै वडामा विशेषज्ञ सेवा र एक्सरे जाँच पाउने छन्,” उनले भने।

शिविरमा चौतारा अस्पताल, तिलगंगा आँखा केन्द्र, बज्रवाराही अस्पताल, मेलम्ची प्राथमिक स्वास्थ्य सेवा केन्द्र, सुनकोशी अस्पताल, आयुर्वेद चिकित्सालय र दुवाचौर स्वास्थ्य चौकीको प्राविधिक सहयोग रहेको थियो।

शिविरमा सेवा लिएकी स्थानीयवासी मनकुमारी तामाङले भनिन्,
“पहिले सामान्य उपचारका लागि सदरमुकाम जानुपर्थ्यो, आज विशेषज्ञ आफैं वडामा आए। यस्तो शिविर हरेक वर्ष हुनु पर्छ।”

यस निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार र स्थानीय तहबीचको सहकार्य कत्तिको प्रभावकारी हुन सक्छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ। आयोजकहरूका अनुसार यस्ता शिविर भविष्यमा अन्य वडाहरूमा पनि विस्तार गरिँदै छन्।

१८ जेष्ठ २०८२, शनिबार ०९:०६