/*php the_title();*/?>


आइसिँ तामाङ, मेलम्ची ४ सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका वडा नं। ४ अन्तर्गत पर्ने पाटिभन्ज्याङ बस्ती निरन्तर झरिरहेको पहिरोका कारण गम्भीर जोखिममा परेको छ। विगत एक सातादेखि निरन्तर पहिरो खसिरहेकाले हाल करिब चारवटा घर उच्च जोखिममा छन्। स्थानीय बासिन्दा विश्वराम श्रेष्ठका अनुसार बस्तीमा पहिरोको खतरा बढ्दै गइरहेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक देखिन्छ।मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने क्रममा भएको भूस्खलनबाट पहिरो सुरु भएको र अहिले अवस्था जटिल बन्दै गएको छ। वडाध्यक्ष संजीव तामाङले घटनास्थलको निरीक्षण गरी बस्ती संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रदेशसभा सदस्य कुमारी तामाङले पनि प्रभावित क्षेत्रको अवलोकन गरेकी छन्। उनका अनुसार ठूलोथकनी निम्न माध्यमिक विद्यालय पनि पहिरोको जोखिममा परेको छ। इलाका प्रहरी कार्यालय मेलम्चीले पहिरो निरन्तर बगिरहेको जानकारी दिएको छ। उच्च जोखिममा रहेका घरका बासिन्दालाई सतर्क रहन र आवश्यक परे तुरुन्त सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। प्राकृतिक प्रकोपको यस अवस्थामा स्थानीयवासी त्रसित छन् भने सम्बन्धित निकायहरूबाट बस्ती जोगाउन र संभावित क्षति न्यूनीकरण गर्न सक्दो पहल भइरहेको जनाइएको छ।
१० असार २०८२, मंगलवार २२:००