/*php the_title();*/?>

जनतापत्र, मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाको समन्वयमा प्रकृति रिसोर्स सेन्टरले २०७८ सालको विनाशकारी मेलम्ची खोलाको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पारेको गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यक्रममा बाढीपछिका सामाजिक, सांस्कृतिक र मनोसामाजिक प्रभावहरू, तिनका दीर्घकालीन असरहरू र प्रभावित समुदायको पुनर्स्थापनाका उपायबारे छलफल गरिएको थियो। अध्ययनले हानि–नोक्सानी मूल्याङ्कनलाई राज्यका नीति, योजना र स्रोत व्यवस्थापनसँग जोड्नुपर्ने सुझाव पनि दिएको छ। छ जना अनुसन्धानकर्ताले प्रतिवेदन प्रस्तुत गर्दै बाढीले भौतिक मात्र होइन, सांस्कृतिक पहिचान, समुदायको आत्मबल र आपसी सम्बन्धमा पनि गहिरो चोट पुर्याएको निष्कर्ष निकालेका छन्। उनीहरूले मनोसामाजिक सहयोग र सांस्कृतिक पुनर्निर्माणलाई दीर्घकालीन पुनःस्थापना रणनीतिको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उपप्रमुख उमा प्रधानको अध्यक्षता रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नं। २, ६ र १० का वडाध्यक्षहरू, समाजसेवी बालकृष्ण देउजा, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले प्राकृतिक विपत्तिबाट हुने गैर–आर्थिक क्षतिलाई नीतिगत रूपमा मान्यता दिनु र त्यसका आधारमा पुनर्निर्माण योजना बनाउनु आवश्यक रहेको सुझाव दिएका थिए। अन्त्यमा, मेलम्ची–हेलम्बुका बासिन्दाका मनोसामाजिक चुनौतीहरू समाधानका लागि राज्य र नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो।
२७ आश्विन २०८२, सोमबार २२:०७