मेलम्ची–फट्टे पुल पुनर्निर्माण अघि बढ्यो, नगरप्रमुख तामाङद्वारा प्रस्तावित स्थलको निरीक्षण

जनतापत्र, सिन्धुपाल्चोक – २०७८ सालको भीषण बाढीले बगाएको मेलम्ची–फट्टे–दुवाचौर पक्की मोटरेबल पुल पुनर्निर्माणका लागि ठोस पहल सुरु भएको छ। यसै सन्दर्भमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले प्रस्तावित पुल निर्माण स्थलको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइने जानकारी दिनुभएको छ।

स्थलगत निरीक्षणका क्रममा नगरप्रमुख तामाङले फट्टे पुल केवल भौतिक संरचना मात्र नभई स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक पूर्वाधार भएको उल्लेख गर्नुभयो। आवागमन, शिक्षा, स्वास्थ्य सेवा तथा आर्थिक गतिविधिमा यस पुलको महत्त्व अत्यन्त ठूलो रहेको भन्दै २०७८ को बाढीपछिदेखि स्थानीयवासीले भोग्दै आएको समस्या अब लामो समयसम्म सह्य नहुने उहाँको भनाइ थियो। पुल निर्माणमा थप ढिलाइ हुँदा जनताको दैनिक जीवन झन् कष्टकर बन्ने उहाँले स्पष्ट पार्नुभयो।

जोखिमयुक्त भूगोललाई ध्यानमा राख्दै दीर्घकालीन, सुरक्षित र दिगो समाधान दिने किसिमको पुल निर्माण आवश्यक रहेकोमा जोड दिँदै नगरप्रमुख तामाङले संघीय, प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी समन्वय र सहकार्यबाट मात्र यस्ता ठूला पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न गर्न सकिने बताउनुभयो। यस अवसरमा मेलम्ची नगरपालिका वडा नं. ८ का वडाध्यक्ष जितबहादुर दोङ्गले पुल निर्माण प्रक्रिया अघि बढ्नु सकारात्मक संकेत भएको भन्दै शीघ्र निर्माण कार्य सुरु हुने विश्वास व्यक्त गर्नुभयो। पुल निर्माण सम्पन्न भएपछि बाढीपछिको पीडाबाट स्थानीयवासी मुक्त हुने, सुरक्षित आवागमन सुनिश्चित हुने र स्थानीय विकासले नयाँ गति लिने उहाँको धारणा थियो। आवश्यक समन्वयका लागि स्थानीयवासीबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।

नगरप्रमुख तामाङको निरन्तर पहल तथा बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय कृष्णकुमार तामाङको सक्रियतापछि प्रदेश सरकारले पुल निर्माणप्रति चासो देखाएको जनाइएको छ। यसै क्रममा प्रदेश सरकारका प्राविधिक टोलीले स्थलगत अध्ययन गर्दै सम्भावित डिजाइन, लागत अनुमान र प्रयोग हुने प्रविधिबारे प्रारम्भिक छलफल गरिसकेको छ। स्थलगत अवलोकन कार्यक्रममा नगरप्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा अध्यक्षहरू जितबहादुर तामाङ र गणेश तामाङ, बागमती प्रदेश सरकारका प्राविधिक तथा मेलम्ची नगरपालिकाका प्राविधिकहरूको सहभागिता रहेको थियो।

१ पुष २०८२, मंगलवार १६:१२