मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षमै सुरु हुने

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले मेलम्ची फट्टे–दुवाचौर पुलको निर्माण कार्य यही आर्थिक वर्षभित्र सुरु हुने स्पष्ट गर्नुभएको छ। मेलम्ची नगरपालिका–७ दुबाचौरस्थित बालुङ्गे गोल्मे डाँडामा नवनिर्मित तेर माने छोर्तेनको समुद्घाटन, राप्ने तथा आयु अभिषेक कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री तामाङले आर्थिक वर्ष २०८२र८३ का लागि प्रदेश सरकारले पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिसकेको र निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो।

उहाँले पुल निर्माणका लागि आवश्यक फाइल प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै तीनै तहका सरकारको समन्वयमा निर्माण कार्य छिट्टै सुरु गरी समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो। लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको आवागमनको समस्या समाधान गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो। मन्त्री तामाङले सिँचाइ र खानेपानी समस्याको समाधानसँगै भौतिक पूर्वाधार विकासका कामलाई निरन्तरता दिइँदै आएको उल्लेख गर्दै मेलम्ची क्षेत्रका लागि चुनौतीका रूपमा रहेको उक्त पुल निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। स्थानीय सरकारले आफ्नै स्रोतबाट पुल निर्माण गर्ने योजना बनाएको भए पनि प्राविधिक जटिलताका कारण सम्भव नदेखिएपछि प्रदेश सरकारले यसलाई आफ्नो दायित्वका रूपमा लिएर अगाडि बढाएको उहाँले बताउनुभयो।

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष पासाङ तामाङले धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको धारणा राख्नुभयो। छोर्तेन समुद्घाटन तथा वाङ अभिषेक कार्यक्रममा बौद्ध धर्मका लामा गुरुहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। धार्मिक विधिअनुसार सम्पन्न कार्यक्रमले स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। वक्ताहरूले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र समुदायबीचको एकता मजबुत बनाउने बताएका थिए।

२९ मंसिर २०८२, आईतवार १९:१२