मेलम्ची नगरपालिका ९ गुफाडाँडाको द्वारेटोलमा सामुदायिक भवन सञ्चालनमा ल्याइयो

जनतापत्र,सिन्धुपाल्चोक ।
गुफाडाँडा द्वारेटोलमा नवनिर्मित सामुदायिक भवनको उद्घाटनसँगै पूजा कार्यक्रम सम्पन्न गरिएको छ । मेलम्ची नगरपालिकाको लगानीमा निर्माण भएको भवन औपचारिक रूपमा समुदायको प्रयोगमा ल्याउने तयारी गरिएको हो । भवन उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उपप्रमुख उमा प्रधान विशिष्ट अतिथि तथा वडा अध्यक्ष किरणदीप खड्का विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । नगरपालिकाबाट विनियोजन गरिएको ७९ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त भवन उद्घाटन गर्दै नगरप्रमुख तामाङले निर्माण सम्पन्न भइसकेकाले अब ढिलाइ नगरी प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले केही प्राविधिक तथा संरचनागत काम बाँकी रहेकाले ती कार्य पूरा भएपछि मात्र भुक्तानी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । साथै, भवनको संरक्षण र घेराबारका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले सामुदायिक भवनले स्थानीयस्तरका सामाजिक, सांस्कृतिक तथा विकाससम्बन्धी गतिविधि सञ्चालनमा सहजता ल्याउने बताउनुभयो । उहाँले विकास निर्माणका काम समुदायसँगको सहकार्यमा अघि बढाइने उल्लेख गर्दै भवनको दीगो संरक्षणका लागि अक्षयकोष स्थापना गर्नुपर्ने सुझाव दिनुभयो । गुफाडाँडा क्षेत्र पर्यटकीय सम्भावना बोकेको स्थान भएकाले यसलाई पर्यटन विकाससँग जोडेर अघि बढाउने योजनामा नगरपालिका रहेको उहाँको भनाइ थियो । गुफाडाँडा द्वारेटोल सामुदायिक भवन संरक्षण समितिका अध्यक्ष निशान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा समाजसेवी विनोद कार्की, वडा सदस्य पूर्णबहादुर तामाङ, समाजसेवी शेरपदोर्जे पाख्रिनलगायत स्थानीयवासीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्थानीय सचिन पाख्रिनले गर्नुभएको थियो ।

१५ माघ २०८२, बुधबार २१:५९