मेलम्ची नगरपालिका–८ को लङ्गुरे डाँडामा सामुदायिक भवनको शिलान्यास

जनतापत्र,मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ स्थित लङ्गुरे डाँडामा शनिबार सामुदायिक भवनको शिलान्यास गरीएको छ । बागमती प्रदेश सरकारको महत्त्वपूर्ण बजेटबाट निर्माण हुन लागेको सुन्दर र सुविधायुक्त लङ्गुरे डाँडा सामुदायिक भवनको शिलान्यास समारोह भव्यताका साथ सम्पन्न भएको छ। यो आयोजनाले लङ्गुरे डाँडाका बासिन्दाहरूमा उत्साहको नयाँ सञ्चार गराएको छ भने सहकार्य र समावेशिताको भावनालाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।
उक्त गरिमामय समारोहमा बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका सचिव, जुझारु नेता कृष्ण कुमार तामाङ (समीर) प्रमुख अतिथिको रूपमा उपस्थित थिए। आफ्नो व्यस्त समयलाई व्यवस्थापन गर्दै लङ्गुरे डाँडाका स्थानीयवासीहरूको खुसीमा सहभागी हुन आइपुगेका तामाङले सामुदायिक भवनको महत्त्वमाथि प्रकाश पार्दै यसले स्थानीय स्तरमा सामाजिक एकता, विकास र सामूहिक क्रियाकलापलाई टेवा पु¥याउने बताए। उनले प्रदेश सरकार सदैव जनताको आवश्यकता र विकासका लागि प्रतिबद्ध रहेको कुरा पनि व्यक्त गरे।
कार्यक्रममा मेलम्ची नगरपालिकाका लोकप्रिय नगर प्रमुख आइतमान तामाङको विशेष आतिथ्य रहेको थियो। नगर प्रमुख तामाङले सामुदायिक भवन निर्माणको थालनीले नगरको विकासमा थप एक इँटा थपिएको महसुस भएको बताए। उनले वडा नम्बर ८ का अध्यक्ष, सदस्यहरू र सम्पूर्ण स्थानीयवासीहरूको सक्रियता र सहकार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै एकता कायम रहने विश्वास व्यक्त गरे। नगर प्रमुखले सामुदायिक भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा वडा नम्बर ८ का कर्मठ वडा अध्यक्ष जितबहादुर तामाङले आफ्नो वडामा यस्तो महत्त्वपूर्ण आयोजना सुरु भएकोमा खुसी व्यक्त गरे। उनले सामुदायिक भवन निर्माणका लागि पहल गर्ने प्रदेश सरकार, नगर प्रमुख र सबै सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गरे। वडा अध्यक्ष तामाङले यो भवन वडाका सम्पूर्ण नागरिकहरूको साझा सम्पत्ति हुने र यसले विभिन्न सामाजिक, सांस्कृतिक र विकासका गतिविधिहरू सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उक्त शिलान्यास समारोहमा वडा सदस्यहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, लगायत विभिन्न क्षेत्रका स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीयवासीहरूले सामुदायिक भवन निर्माणपछि गाउँमा विभिन्न भेला, छलफल, तालीम र अन्य सामाजिक कार्यहरू गर्न सहज हुने विश्वास व्यक्त गरे।
लङ्गुरे डाँडामा बन्न लागेको यो सामुदायिक भवन केवल एउटा भौतिक संरचना मात्र नभएर यो स्थानीयवासीहरूको एकता, सहकार्य र सामूहिक भावनाको प्रतीक पनि हो। यसले गाउँको सामाजिक जीवनलाई अझ जीवन्त र गतिशील बनाउन मद्दत गर्नेछ। बागमती प्रदेश सरकार र मेलम्ची नगरपालिकाको यो संयुक्त प्रयासले ग्रामीण क्षेत्रको विकासमा एक महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ। अब लङ्गुरे डाँडाका बासिन्दाहरूले आफ्नो गाउँमा एउटा सुन्दर र सुविधायुक्त सामुदायिक भवन पाउने भएका छन्, जहाँ उनीहरूले आफ्ना खुसी र दुःखका पलहरू साझा गर्न सक्नेछन् र गाउँको विकासका लागि सामूहिक रूपमा अगाडि बढ्न सक्नेछन्।

२१ बैशाख २०८२, आईतवार २२:४१