मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि तेर्से माध्यमिक विद्यालयलाई

जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि तेर्से माध्यमिक विद्यालय तालामाराङले हात पारेको छ। गत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेर्से मा।वि।ले ११ स्वर्ण, ८ रजत र ५ कास्यसहित २४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। गत वर्षको विजेता इन्द्रेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण, ११ रजत र ७ कास्य गरी २८ पदकसहित दोस्रो स्थानमा रह्यो भने बालसुधार माध्यमिक विद्यालय दुवाचौरले ७ स्वर्ण र ३ कास्य पदकसहित तेस्रो स्थान हासिल गर्यो।

मेलम्ची नगरपालिका भित्रका २३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगिताको उद्घाटन नगर प्रमुख आइतमान तामाङले गर्नुभएको थियो।
समापन समारोहमा बोल्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। यस्ता कार्यक्रमले अनुशासन, प्रतिस्पर्धा र नेतृत्व क्षमताको विकास हुँदै प्रदेश तथा राष्ट्रिय स्तरमा समेत सहभागिताको प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका सभापति तथा मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलका प्रधानाध्यापक दिनेश बस्नेतले विद्यालयस्तरमै खेलकुदको आधार निर्माण गर्न राष्ट्रपति रनिङ शिल्ड प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। प्रतियोगितामा सक्रिय भूमिका खेलेका शिक्षक, विद्यार्थी तथा सहयोगीलाई धन्यवाद ज्ञापन गरिएको थियो। समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र, वडा नं। ६ का अध्यक्ष प्रेमबहादुर तामाङलगायतको उपस्थिती रहेको थियो।

२६ पुष २०८२, शनिबार २१:०३