/*php the_title();*/?>


जनतापत्र,मेलम्ची नगरपालिका ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले आफ्नो क्षेत्रलाई सडक आश्रित बालबालिका मुक्त स्थानीय तह घोषणा गरेको छ।
बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको मिति २०८२÷०१÷०५ को पत्रअनुसार, नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सडकमा आश्रित बालबालिकाको खोज, उद्धार तथा पुनःस्थापनाको प्रक्रिया सम्पन्न गरेको हो।
नगरपालिकाले वडास्तरीय पत्राचार र छलफल मार्फत आफ्ना सबै १३ वडामा व्यापक रूपमा अध्ययन, अनुसन्धान र स्थानीय सहभागिताको आधारमा कुनै पनि सडक आश्रित बालबालिका नरहेको पुष्टि गरेको छ।
यही आधारमा मेलम्ची नगरपालिकाले सडक आश्रित बालबालिका शून्य क्षेत्र रहेको औपचारिक जानकारी सम्बन्धित निकायहरूलाई दिएको हो।नगर कार्यपालिकाको बैठकबाट समेत सो निष्कर्षलाई पुष्टि गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्वारा हस्ताक्षरित औपचारिक पत्रमा मेलम्ची नगरपालिकाले बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयसँगै जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ, र गाउँपालिका राष्ट्रिय महासंघलाई सडक आश्रित बालबालिका मुक्त स्थानीय तह भएको जानकारी गराएको छ।
मेलम्ची नगरपालिकाले यसअघि पनि विभिन्न सामाजिक अभियान अन्तर्गत बालबालिका, महिलाहरू, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसपटकको घोषणा, स्थानीय सरकारको बालमैत्री दृष्टिकोणलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
२ जेष्ठ २०८२, बिहीबार १३:५७