/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका छिट्टै समृद्ध बन्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताएका छन्। मेलम्ची नगरपालिका–१२ को नयाँ प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नगर समृद्धिको दिशातर्फ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्नुभयो।

प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी मेयर तामाङले वडा अध्यक्ष गणेशबहादुर तामाङको अथक प्रयासमा ४ करोड ६२ लाख रुपैयाँको बजेट सुनिश्चित गरिए पनि भवन निर्माण कार्य २ करोड ९७ लाख रुपैयाँमा सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले अन्य वडाहरूको तुलनामा वडा–१२ मा बढी खर्च भए पनि सेवा निष्पक्ष रूपमा प्रवाह हुने कुरामा कुनै दुविधा नरहेको स्पष्ट पार्नुभयो।

वडाको प्रशासनिक भवन निर्माणपछि अब अन्य पूर्वाधार विकासमा प्राथमिकता दिइने बताउँदै उहाँले सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण भइसकेको र अब वडा–१२ को मुख्य सडक बाहुनेपाटी–थाक्ले सडकको निर्माण तथा स्तरोन्नतिका लागि निरन्तर बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो।

उहाँले आगामी आर्थिक वर्षसम्ममा नगरभित्रका सबै भौतिक संरचनाहरू निर्माण सम्पन्न गरिने लक्ष्य रहेको उल्लेख गर्नुभयो। त्यसपछिका बजेटहरू आयआर्जन हुने क्षेत्रमा केन्द्रित गरिने र मेलम्चीलाई आर्थिक रूपमै आत्मनिर्भर बनाउने योजनाको पनि उहाँले जानकारी दिनुभयो।
नगरको समृद्धिका लागि प्रदेश तथा संघीय सरकारबाट समेत बजेट आउने भएकाले सबै पक्षको सहकार्य र राय अनुसार विकास निर्माणका कामहरू अघि बढाइरहेको उहाँको भनाइ थियो ।
( माथी प्रयोग गरिएको तस्बिर मानकाजी पाख्रीनबाट लिएको हो )
८ जेष्ठ २०८२, बुधबार १७:३१