/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका र घोराही उपमहानगरपालिकाबीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमा कुमारी डि।सी। सहभागी रहेका थिए। भेटका क्रममा स्थानीय तहमा सञ्चालन हुने न्यायिक समितिको प्रभावकारिता, सेवा प्रवाह र विवाद समाधानका अभ्यासबारे विस्तृत छलफल गरिएको थियो। घोराहीकी उपप्रमुख हुमा कुमारी डि।सी।ले न्यायिक समितिमार्फत गरिएको विवाद समाधानका सफल अभ्यास, सेवाग्राहीमैत्री कार्यशैली तथा न्यायमा पहुँच सहज बनाउने उपायहरूबारे जानकारी दिनुभयो। उहाँका अनुसार घोराहीमा अपनाइएका विधिहरू स्थानीय तहका लागि उदाहरणीय बन्न सक्नेछन्।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षा, पूर्वाधार विकास तथा सेवा प्रवाह सुधारका क्षेत्रमा हासिल उपलब्धिहरू प्रस्तुत गर्दै समग्र विकासका प्रभावकारी अभ्यासहरू साझा गर्नुभयो।
यसैबीच मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले मेलम्चीमा न्यायिक समिति तथा प्रशासनिक कार्यसम्पादनमा भएका प्रगतिबारे जानकारी गराउनुभयो। उहाँले न्यायिक समितिमार्फत स्थानीय विवादहरू छिटो, सहज र प्रभावकारी रूपमा समाधान हुँदै आएको उल्लेख गर्दै न्याय प्रणालीलाई थप सुदृढ बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। साथै, उहाँले घोराहीका प्रतिनिधिहरूलाई मेलम्ची भ्रमणको निमन्त्रणा समेत दिनुभयो।
कार्यक्रमले दुई स्थानीय तहबीच असल अभ्यास आदानप्रदानलाई मजबुत बनाउँदै विशेषगरी न्यायिक समितिको सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सहभागीहरूले स्थानीय स्तरमै प्रभावकारी न्याय सेवा प्रदान गर्दै नागरिकको विश्वास अभिवृद्धि गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
९ चैत्र २०८२, सोमबार १८:२६