मेलम्चीस्थित झुल्केघाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न

जनतापत्र, सिन्धुपाल्चोक ।
झुल्केघाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मेलम्चीको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै उपप्रमुख प्रधानले सहकारी आपसी विश्वास, पारदर्शिता र सामूहिक समृद्धिको माध्यम भएको बताउनुभयो । उहाँले उद्देश्य मिल्ने सहकारीहरू मर्ज गरेर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऋण उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर–११ का अध्यक्ष चन्द्रबहादुर तामाङले झुल्केघाम सहकारी मूल्य–मान्यता र नियमअनुसार सञ्चालन भएकाले उदाहरणीय बनेको उल्लेख गर्नुभयो । सभामा सचिव महेश चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका अनुसार सहकारीको बचत ३ करोड २३ लाख ९० हजार, शेयर पुँजी १ करोड ३९ लाख ६८ हजार र ऋण लगानी ४ करोड २० लाख ८३ हजार रुपैयाँ रहेको छ । कुल सदस्य संख्या १ हजार ६२५ रहेको जानकारी दिनु भएको छ । साधारण सभाको अवसरमा आगलागी पीडित दानबहादुर अधिकारीलाई नगद सहयोग प्रदान गरिनुका साथै उत्कृष्ट बचतकर्ता र असल ऋणीहरूलाई सम्मान गरिएको थियो

११ पुष २०८२, शुक्रबार २१:०८