/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिले विद्यालय तहमा कार्यरत शिक्षकहरूका लागि एकदिने सिर्जनात्मक लेखन प्रशिक्षण सञ्चालन गरेको छ। शनिबार आयोजित कार्यक्रममा झन्डै एक सय जना शिक्षकहरूको सहभागिता रहेको थियो।
बार्णिक तथा मात्रिक छन्दमा कविता सिर्जनासम्बन्धी कार्यशालामूलक प्रशिक्षणको सहजीकरण प्राध्यापक डा। देवी नेपालले गर्नुभएको थियो। कार्यक्रममा कविता लेखनका आधार, छन्द प्रयोग र कक्षाकोठामा सिर्जनात्मक लेखनलाई प्रभावकारी बनाउने विषयमा अभ्यास गराइएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले शिक्षकको पेशागत विकासमा संगठनले गर्दै आएको पहलको प्रशंसा गर्दै शैक्षिक गुणस्तर सुधारका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए। सहभागी शिक्षकहरूले प्रशिक्षणले विद्यार्थीलाई सिर्जनात्मक लेखनतर्फ प्रोत्साहित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीका अध्यक्ष कृष्ण ढुङ्गानाका अनुसार नेपाली भाषा शिक्षक तथा साहित्यमा रुचि राख्ने शिक्षकहरूलाई लक्षित गरी प्रशिक्षण आयोजना गरिएको हो। प्राप्त सिकाइ अब कक्षाकोठामा प्रयोग हुने अपेक्षा गरिएको छ।
११ माघ २०८२, शनिबार २१:००