/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका र RIMES को सहकार्यमा विपद् प्रतिकार्य क्षमतामा समुदायलाई सशक्त बनाउने उद्देश्यसहित चारदिने सामुदायिक पहल तालिम मेलम्चीमा सोमबारबाट सुरु भएको छ। तालिमको उद्घाटन समारोहमा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, RIMES की देशीय प्रमुख पुजा शाक्य तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कार्यक्रम संयोजक भोजराज घिमिरे लगायतले सहभागीलाई सम्बोधन गर्दै विपद् जोखिम न्यूनीकरणमा समुदायको अग्रणी भूमिकाबारे जोड दिनुभयो।

वक्ताहरूले मेलम्ची क्षेत्र बाढी, पहिरो लगायत प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले स्थानीय तह र समुदायबीचको सहकार्य, पूर्वतयारी र समयमै प्रतिकार्य अत्यन्त आवश्यक रहेको बताउनुभयो। यस्ता तालिमले विपद्का बेला हुने क्षति न्यूनिकरणमा महत्वपूर्ण योगदान पुग्ने उहाँहरूको भनाइ थियो।
तालिममा मेलम्ची नगरपालिकाका विभिन्न वडाबाट आएका समुदाय प्रतिनिधि, स्वयंसेवक तथा सरोकारवालाहरूको सहभागिता रहेको छ। तालिममार्फत विपद् पूर्वतयारी, जोखिम पहिचान, सूचना आदान–प्रदान तथा प्रभावकारी प्रतिकार्य क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
२१ पुष २०८२, सोमबार २२:०६