मेलम्चीमा यात्रुबाहक बस दुर्घटनाः चालक गम्भीर, ८ जना यात्रु घाइते

आइसिँ तामाङ,मेलम्ची सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तिपेनीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस शनिबार बिहान दुर्घटनामा परेको छ। बागमती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको सो बस अनियन्त्रित भई सडकबाट तल खस्दा चालक गम्भीर घाइते भएका छन् भने आठ जना यात्रु घाइते भएका छन्। घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार बसमा करिब १० जना सवार थिए। दुर्घटनामा पाँचपोखरी थाङपाल गाउँपालिका–६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङका नोर्की तामाङ र पेमा लामा, धापका रामचन्द्र पौडेल, विनायक ढकाल र चालक महेश्वर ढकाल घाइते भएका हुन्। घाइतेमध्ये चालक ढकालको अवस्था गम्भीर रहेको र तत्काल थप उपचारका लागि काठमाडौं रेफर गर्ने तयारी भइरहेको मेलम्ची नगर अस्पतालले जनाएको छ। अन्य यात्रुहरूको अवस्था सामान्य रहेको छ र उनीहरूलाई प्राथमिक उपचार दिइएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण प्रारम्भिक रूपमा ब्रेक फेल भएको अनुमान गरिएको छ।
दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षकले जानकारी दिएका छन्। मेलम्ची–तिपेनी सडकखण्ड लामो समयदेखि दुर्घटनाको कालो सूचीमा पर्दै आएको भए पनि सुधारमा सम्बन्धित निकायहरूको ध्यान केन्द्रित नभएको स्थानीयको गुनासो छ।
सडक सुरक्षाको अभाव, सवारी साधनको लापरबाही जाँच, र राज्यको उदासीनता—यी सबै पक्षले पुनः एकपटक यात्रीहरूको जीवनसँग खेलिएको अवस्थाको स्मरण गराएका छन्।

१४ असार २०८२, शनिबार १४:१२