मेलम्चीमा बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सम्मान

आइसिँ तामाङ,मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाले बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सम्मान गरेको छ। आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेश सरकारका तीन मन्त्रीहरूलाई मेलम्ची सम्मान गरिएको हो।
उक्त समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, स्वास्थ्य मन्त्री किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङको उपस्थिति थियो।
यसका साथै विभिन्न खेलकुद तथा कलाका क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने मेलम्चीका प्रतिभाहरूलाई पनि सम्मान गरिएको थियो।
सम्मानित हुनेहरूमा नवौँ एसिया गोजुरियो कराते प्रतियोगितामा स्वर्ण पदक विजेता करीना पुरी, नेपाल आइडल सिजन ६ का फाइनलिस्ट गंगा सोनाम, र आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक विजेता शशांक तामाङ रहेका छन्।
नगरप्रमुख आइतमान तामाङले विशिष्ट व्यक्तिहरू र कलाकारहरूलाई सम्मान गर्न पाउँदा नगरपालिका खुसी भएको बताउनुभयो। यो सम्मानले उनीहरूलाई थप कर्तव्यनिष्ठ र हौसला मिल्ने अपेक्षा गरिएको छ।

७ भाद्र २०८२, शनिबार १७:५३