/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाको आयोजनामा आगामी पौष १७ गते “छैठौँ गुफाडाँडा जलवायु सम्मेलन २०८२” आयोजना हुने भएको छ । सम्मेलन बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ । सम्मेलनमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ, स्वास्थ्य मन्त्री किरण थापा र वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको विशेष आतिथ्य रहने आयोजकले जनाएको छ । जलवायु परिवर्तनबाट उत्पन्न चुनौती, त्यसको स्थानीय तहमा परेको प्रभाव, अनुकूलन तथा न्यूनीकरणका उपायबारे विचार–विमर्श गर्दै साझा प्रतिबद्धता विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, छिमेकी जिल्लाका जनप्रतिनिधि, जिल्लास्थित सरकारी तथा सुरक्षा निकायका प्रमुख, साथै विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनमार्फत नीति निर्माण, कार्यान्वयन र अन्तरसरकारी समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । गुफाडाँडालाई केन्द्र बनाएर विगतदेखि निरन्तर हुँदै आएका जलवायु सम्मेलनहरूले स्थानीयदेखि प्रदेशस्तरसम्म जलवायु एजेन्डालाई संस्थागत गर्न महत्वपूर्ण योगदान दिँदै आएका छन् । छैठौँ संस्करणले पनि जलवायु न्याय, दिगो विकास र वातावरण संरक्षणमा ठोस निष्कर्ष निकाल्ने विश्वास लिइएको आयोजकको भनाइ छ ।
१५ पुष २०८२, मंगलवार १२:२३