/*php the_title();*/?>

जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
विवादको साटो मेलमिलापको माध्यमबाट समस्या समाधान गर्ने उद्देश्यसहित न्यायिक तथा कानुनी साक्षरता सम्बन्धी दुईदिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । न्यायिक समिति मेलम्ची नगरपालिकाको आयोजनामा सम्पन्न तालिमको समापन गर्दै नगरपालिकाका उपप्रमुख उमा प्रधानले समयअनुसार विवादका स्वरूप बदलिँदै गएकाले यस्ता तालिम अपरिहार्य भएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले मानिसका मानसिक पीडामा मलम लगाउने महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले राज्यले उनीहरूलाई थप सुदृढ रूपमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।

नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले समाजलाई शान्त र सरल बनाउन मेलमिलापकर्ताको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै दुवै पक्षको जित हुने गरी विवाद समाधान गर्दा समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो । तालिममा सहभागी मेलम्ची–२ का कुमार चौलागाईंले तालिम जानकारीमूलक र उपयोगी भएको प्रतिक्रिया दिँदै कानुनी साक्षरता, नियम तथा कानुनी व्यवस्थाबारे गहिरो छलफल गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा प्रत्येक वडाबाट न्यायिक सम्पर्क व्यक्ति र मेलमिलाप संयोजक गरी २६ जनाको सहभागिता रहेको नगरपालिकाकी न्यायिक सहजकर्ता अस्मिता अर्यालले जानकारी दिनुभयो । सो अवसरमा अधिवक्ता उद्धवप्रसाद अधिकारी र रामबाबु नेपालद्वारा लिखित ‘न्यायिक समितिको सारथी’ नामक पुस्तक समेत सहभागीलाई वितरण गरिएको थियो ।
१४ पुष २०८२, सोमबार १८:३६