/*php the_title();*/?>


जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
शक्षाको गुणस्तर उकास्ने अभियानलाई बल दिने उद्देश्यसहित मेलम्चीमा दुई दिने विशेष तालिम सम्पन्न भएको छ । साझेदारी नेपालको आयोजना, मेलम्ची नगरपालिकाको सहकार्य र चाइल्ड रेस्क्यु नेपालको सहयोगमा सम्पन्न तालिम “एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सीप विकास” शीर्षकमा केन्द्रित रहेको थियो । तालिममा मेलम्चीका ६० जना शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो । सहभागीलाई इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी सहायक निरीक्षक कुमार चौलागाईंले साइबर क्राइम र डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक जानकारी दिनु भएको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका श्रोत विज्ञ योगबहादुर थापाले विद्यालय अनुगमनका अनुभव साझा गर्दै पाठ्यक्रम कार्यान्वयन र मूल्यांकन अझ प्रभावकारी बनाउन यस्ता तालिम अपरिहार्य रहेको बताए । उहाँले हालसम्मको प्रगति उत्साहजनक भए पनि बाँकी चुनौती समाधानमा यस तालिमले ‘गेम चेन्जर’को भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
समापन सत्रमा साझेदारी नेपालका अध्यक्ष मानबहादुर भुसालले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नु भएको छ । साथै, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष कुमार खतिवडा, श्री जनजागृति माविका प्रधानाध्यापक तथा प्रशिक्षक इन्द्रकुमार तामाङलगायतले सहजीकरण गर्नु भएको थियो ।
७ भाद्र २०८२, शनिबार २०:१७