/*php the_title();*/?>


आइसिँ तामाङ,मेलम्ची सिनधुपाल्चोक ।
भूकम्प र जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको मेलम्चीमा तीन दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन तालिम सुरु भएको छ। मेलम्ची नगरपालिकाको आयोजना र बाग्मती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम सुरु गरिएको हो। तालिमको उद्घाटन उप–प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उहाँले विपद् पूर्व सूचना नदिई आउने भएकाले स्थानीय तहले सतर्कता र तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै सहभागी युवाहरुलाई विपद्को बेला सक्रिय भएर समुदायको सुरक्षा गर्न आह्वान गर्नुभयो। मेलम्चीका ५ वडाबाट आएका २० बढी युवाहरुलाई सशस्त्र प्रहरी गण नं। १६ बन्देउका निरीक्षक कृष्ण कुमार भण्डारी र हवल्दार प्यारोजन थापाले प्रशिक्षण दिइरहेका छन्। उनीहरूले खोज तथा उद्धार टोलीको गठन, व्यक्तिगत सुरक्षा, विपद् सामाग्रीको प्रयोग, बाढी–पहिरोका बेला उद्धार लगायतका विषयमा प्रशिक्षण दिइरहेका छन्। विपद् शाखा प्रमुख अञ्जना कार्कीका अनुसार दोस्रो दिन प्राथमिक उपचार र तेस्रो दिन भिड नियन्त्रण सम्बन्धी अभ्यास हुनेछ। कार्यक्रम वडा नं। २ का अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको हो। स्थानीय प्रतिनिधि र विद्यालय प्रमुखहरुको पनि उपस्थित रहेको थियो।
१७ असार २०८२, मंगलवार २१:१०