मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ कार्यक्रम अन्तर्गत समिति बैठक तथा अभिमुखीकरण सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
“एक जिल्ला, एक स्वस्थ शहर” कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम आज मेलम्ची नगरपालिकामा सम्पन्न भएको छ। नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा नगरपालिकासँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा ले स्वस्थ शहर निर्माणलाई प्रदेश सरकारको प्राथमिक कार्यक्रमको रूपमा अघि बढाइएको बताउनुभयो।

उहाँले स्वास्थ्य केवल उपचारमा सीमित विषय नभई जीवनशैली, वातावरण, शिक्षा र स्थानीय शासनसँग प्रत्यक्ष जोडिएको समग्र विकासको आधार भएको उल्लेख गर्दै स्वस्थ शहर अवधारणालाई व्यवहारमा उतार्न स्थानीय तहको सक्रियता अपरिहार्य रहेको बताउनुभयो। मन्त्री थापाले प्रदेश सरकार आगामी दिनमा स्वास्थ्यमैत्री नीति, पूर्वाधार विकास, सरसफाइ अभियान, सुरक्षित खानेपानी तथा जनचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढ बनाउँदै लैजाने जानकारी दिनुभयो। विशेष अतिथि निराजन जंगम ले धुलिखेल नगरपालिका लाई नेपालको पहिलो तथा एसियाको दोस्रो स्वस्थ शहर घोषणा गरिएको अनुभव साझा गर्दै दिगो योजना, समुदायको सहभागिता र स्वच्छ वातावरणको महत्वबारे प्रकाश पार्नुभयो। कार्यक्रममा उपप्रमुख उमा प्रधान ले शुभकामना मन्तव्य राख्दै स्वस्थ र समृद्ध नगर निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रमका वक्ताहरूले स्वस्थ शहर निर्माणका लागि सरसफाइ, पोषण, वातावरण संरक्षण, मानसिक स्वास्थ्य तथा सुरक्षित खानेपानी जस्ता विषयमा एकीकृत प्रयास आवश्यक रहेको औंल्याएका थिए।

सहभागीहरूले मेलम्चीलाई स्वास्थ्य, सफा र व्यवस्थित नगरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा विश्व स्वास्थ्य संगठन बागमती प्रदेशका हरि भूषाल, सन्दिप के।सी।, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईं तथा मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ ले ‘स्वस्थ शहर’ को अवधारणा, जिल्लाको वर्तमान स्वास्थ्य अवस्था तथा नगरस्तरीय कार्यान्वयनका विषयमा प्रस्तुतीकरण दिएका थिए। बजगाईंले निर्देशिका अनुसार नगर प्रमुखको संयोजकत्वमा समिति गठन प्रक्रिया बारे पनि जानकारी गराउनुभयो।

२० चैत्र २०८२, शुक्रबार १८:२९