मेलम्चीमा एकल तथा अपांगता भएका महिलाहरूका लागि बाख्रापालन तालिम

जनतापत्र, सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नं. ६ मा एकल तथा अपांगता भएका महिलाहरूका लागि आयोजित तीन दिने बाख्रापालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको आयोजनामा जेठ ४ गतेदेखि ६ गतेसम्म सञ्चालित तालिममा स्थानीय एकल र अपांगता भएका महिलाहरूको उल्लेखनीय सहभागिता रह्यो।

समापन कार्यक्रममा उपप्रमुख उमा प्रधान प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। उनले तालिमले महिलाहरूको आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरिन्।

समाजसेवी तथा सामाजिक व्यक्तित्व बालकृष्ण देउजा, कार्यबाहक वडा अध्यक्ष भोला ढुङ्गाना, महिला, बालबालिका तथा सामाजिक समावेशिकरण शाखा प्रमुख राजेन्द्र दुलाल लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीप भविष्यमा बाख्रापालन व्यवसाय सञ्चालनमा उपयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता तालिमहरू ग्रामीण महिलाहरूको जीवनस्तर उकास्न अत्यन्त प्रभावकारी हुने भन्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


७ जेष्ठ २०८२, मंगलवार १९:२२