मेलम्चीमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर हैबुङमा शुक्राबार हुने

आइसिँ तामाङ । मेलम्ची ३ हैबुङ
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (HRDC) को संयुक्त लागत साझेदारीमा मेलम्ची नगरपालिका वडा नं ११ स्थित नगर अस्पतालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष स्वास्थ्य शिविर विहिबार सम्पन्न भएको छ।
मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको अध्यक्षता र प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङ (समिर) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
स्वास्थ्य शिविर कार्यक्रममा वडा नं ११ र १० का वडा अध्यक्ष क्रमशः चन्द्र बहादुर तामाङ र अमृत खनाल, जनस्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, अस्पताल ईञ्चार्ज ज्ञानेन्द्र घोरासैनी, ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धिताल, डा. किरण श्रेष्ठ, टुकी संघ सुनकोसीका महेन्द्र कार्की लगायत नगरपालिका र HRDC का अन्य प्रतिनिधिहरूको उपस्थितिमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।
समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम (CBR) अन्तर्गत आयोजित शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै सहायक उपकरण वितरणसमेत गरिएको छ ।
विहिबार सम्पन्न शिविरबाट स्वास्थ्य परीक्षण (बालबालिकासहित)ः ८८ जना (४७ पुरुष, ४१ महिला),वाकर वितरणः २ जना ,लौरो वितरणः ६ जना
एल्बो बैशाखी वितरणः १ जना,फिजियोथेरापी सेवाः ८८ जना,कृत्रिम खुट्टा निर्माणका लागि नापजाँचः १६ जना,शल्यक्रियाका लागि रिफरलः ८ जनाले सेवा पाएका छन ।
यसअघि पाँचपोखरी, हेलम्बु लगायत बिभिन्न पालिकामा सिबिर सम्पन्न भैसकेको र शुक्राबार मेलम्ची नगरपालिका ३ हैबुङमा स्वास्थ्य शिविर हुने आयोजकले जनाएको छ ।

१८ बैशाख २०८२, बिहीबार २१:०१