मेलम्चीबाट कांग्रेस उम्मेद्वार बंशलाल तामाङको घरदैलो अभियान उत्साहपूर्ण सुरुवात

आईसिँ तामाङ सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका वडा नं ११ को नेतृत्वमा नेपाली कांग्रेस को घरदैलो अभियान मेलम्ची बजारबाट बाजागाजासहित भव्य रूपमा सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ अन्तर्गत आयोजित स्वागत कार्यक्रममा स्थानीय मतदाताको उल्लेख्य सहभागिता देखिएको थियो, जसले चुनावी माहोललाई थप उत्साहित बनाएको छ।

कार्यक्रममा उम्मेद्वार बंशलाल तामाङ लाई परम्परागत रूपमा घडा राखेर स्वागत गरिएको थियो भने ब्यान्ड बाजाको धुनले बजार क्षेत्र नै गुन्जायमान बनेको थियो। नगर सभापति बसन्त गुरुङ ले मेलम्ची बजारको पूर्ण परिक्रमा गर्दै घरदैलो अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।


उम्मेद्वार तामाङले युवाहरूलाई विदेश पलायन हुन नपर्ने वातावरण गाउँमै सिर्जना गर्ने, जलवायु–मैत्री विकासमार्फत क्षेत्रको संरक्षण गर्ने र आमायाङ्री लाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने योजना अघि सार्नुभयो। साथै हेलम्बु मा हाई–अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना, पाँच वर्षभित्र धुलो–धुवाँमुक्त सडक निर्माण, पाँचपोखरी क्षेत्रको समग्र विकास तथा भोटेचौर को चिया बगानलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले “सम्मानित नेपाली र सम्मानित सिन्धुपाल्चोक” निर्माण गर्ने लक्ष्य दोहोर्‍याउनुभयो।

घरदैलो अभियानका क्रममा मतदाताहरू उत्साहित देखिएका छन्। विशेषगरी इन्द्रावती गाउँपालिका मा तामाङले निर्वाह गरेको भूमिकाले नागरिकमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ। विकास निर्माण, सामाजिक सक्रियता र जनतासँगको निरन्तर संवादले मतदातामा भरोसा बढाएको देखिएको छ।


मेलम्चीबाट सुरु भएको अभियान अब क्षेत्रका अन्य वडाहरूमा विस्तार गरिने कांग्रेस स्रोतले जनाएको छ। संगठन सुदृढीकरणसँगै जनविश्वास जित्दै निर्वाचनमा सफलता हासिल गर्ने दाबी गरिएको छ।

८ फाल्गुन २०८२, शुक्रबार १८:४१