मेलम्चीका ५२ बालविकास सहजकर्तालाई ५ दिने तालिम प्रदान

आइसिँ तामाङ,मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयहरूमा कार्यरत ५२ जना बालविकास सहजकर्ताहरूलाई नगर शिक्षा शाखाको आयोजनामा ५ दिने कस्टमाइज्ड तालिम प्रदान गरिएको छ। राष्ट्रियस्तरका विज्ञ प्रशिक्षकबाट दिइएको तालिमले शिक्षण कार्यमा नवीन दृष्टिकोण, व्यवहारिक सीप र सशक्त प्रेरणा थप्ने नगरले विश्वास गरेको छ। तालिमको समापन गर्नुहुँदै नगर प्रमुख आइतमान तामाङले बालविकास कक्षामा कार्यरत शिक्षक÷शिक्षिकाको भूमिका महत्वपुर्ण हुने भएकोले बालबालिकाको उज्यालो भविष्य निर्माण गर्न तालिमहरूले शिक्षणमा नवीन ऊर्जा ल्याउँने र बालमैत्री वातावरणको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । शिक्षा अधिकृत सुदिनराज बुढाथोकीले बालबालिका देशको कर्णधार भएकोले तिनीहरूको समुचित विकासका लागि शिक्षक मार्फत दिइने गुणस्तरीय सिकाइ अत्यन्तै आवश्यक रहेको र अब यो तालिमले सहजकर्ताहरूलाई अझ जिम्मेवार र सक्षम बनाउन थप मद्दत पुग्ने जानकारी दिनुभएको छ ।

२५ असार २०८२, बुधबार १७:२६