मेलम्चिमा उपभोक्ता सचेतना कार्यक्रम

चण्डिका नेपाली ,मेलम्ची ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मेलम्ची नगरपालिका सभाहलमा आयोजना गरिएको थियो, जहाँ नगरप्रमुख आइतमान तामाङ प्रमुख अतिथि रहनु भएको थियो भने मञ्चका अध्यक्ष शालिग्राम अधिकारीले अध्यक्षता गर्नुभएको थियो।

नगरप्रमुख तामाङले उपभोक्ता सचेतना अभिवृद्धिलाई नगरपालिकाको प्राथमिक एजेन्डा भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले उपभोक्तालाई आफ्नो हक र कर्तव्यप्रति सजग बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरपालिका स्तरमा उपभोक्ता हित संरक्षण समिति गठन गरिने र बजार अनुगमनलाई नियमित गरिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा प्रशिक्षक शृङ्गर काफ्लेले नेपालको संविधान २०७२, उपभोक्ता अधिकार, बजारका वाधक तत्व, र उपभोक्ता सचेतना सम्बन्धी विषयमा प्रशिक्षण दिनुभयो। होमनाथ भट्टराईले व्यवसाय सञ्चालन, कम्पनी दर्ता, क्षतिपूर्ति व्यवस्था, बजार अनुगमन लगायतका कानुनी पक्षमा जानकारी दिनुभयो।

उपभोक्ता संरक्षण मन्त्रालयका विज्ञहरूले गुणस्तरीय वस्तु, सेवा, कानुनी उपाय, र बजार अनुगमनबारे जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा अध्यक्षहरू, शिक्षक, उद्योगी, संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। यसअघि भोटेचौरमा पनि यस्तै कार्यक्रम सम्पन्न गरिएको थियो।

८ जेष्ठ २०८२, बुधबार १३:०२