/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक –
चौतारा साँगाचोकगढी नगरपालिकाको न्यायिक समितिले स्थानीयस्तरमा शान्ति स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै मेलमिलापकर्ताहरूलाई सम्मान गरेको छ । शुक्रवार सम्पन्न न्यायिक समितिको कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, उपप्रमुख सिता थापा तथा न्यायिक समितिका पदाधिकारीहरूको उपस्थितिमा

मेलमिलापकर्ताहरूलाई सम्मानस्वरूप झोला, छाता, डायरी लगायतका सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले शान्ति र अमनचयन सबैको चाहना रहेको उल्लेख गर्दै स्थानीय तहमा मेलमिलाप कार्यक्रम प्रभावकारी बन्दै गएको बताए। “न्यायिक समितिको काम र मेलमिलापकर्ताको सक्रियता प्रशंसनीय छ। यसले समाजमा सहिष्णुता, सद्भाव र दीर्घकालीन शान्ति स्थापना गर्न सहयोग पु¥याएको छ,” उनले भने।

उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सिता थापाले समितिले सञ्चालन गरेका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै मेलमिलापकर्ताले समुदायमा साना–ठूला विवाद समाधानमा खेलेको भूमिकाको प्रशंसा गरिन्। “मेलमिलापकर्ताको निरन्तर क्षमता विकासका लागि समिति प्रतिबद्ध छ,” उनले भनिन्।
कार्यक्रममा मेलमिलापकर्ताहरूले स्थानीय तहमा सहमति, सहकार्य र समाधानमा आधारित संस्कृति विकास गर्न आफूहरू निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाए ।
न्यायिक समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा नगरका विभिन्न वडाबाट सहभागी भएका मेलमिलापकर्ताहरूको उपस्थिति उल्लेखनीय रह्यो।
यस किसिमका सम्मानले मेलमिलापकर्तालाई थप हौसला मिल्ने र स्थानीय तहमा विवाद समाधान प्रक्रियामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
१३ असार २०८२, शुक्रबार १६:२९