
जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलम्चीद्वारा आयोजित महिला उद्यमशीलता तालिम कार्यक्रम सम्पन्न भएको छ। महिलाहरूको सीप विकास, जीविकोपार्जनमा वृद्धि र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीलाई साना तथा घरेलु उद्यम सञ्चालन, आयआर्जनका उपाय र व्यवसाय विस्तारका आधारभूत पक्षबारे जानकारी दिइएको थियो। कार्यक्रममा मेलम्ची नगरपालिकाका ३२ जना महिलाहरूको सहभागिता रहेको थियो।

तालिमसँगै आयोजित अन्तरक्रियामा सहभागी महिलाहरूले आफ्ना योजना, आकाङ्क्षा र सम्भावनाबारे छलफल गरेका थिए। संस्थाकी प्रदेश म्यानेजर विद्या बज्राचार्यले ग्रामीण भेगका महिलाहरूलाई उद्यमशील बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै महिलाहरू आफैं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। उहाँले समयअनुसार ज्ञान, सीप र क्षमताको विकास अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा मेलम्ची नगरपालिका की उपप्रमुख उमा प्रधानले यस्ता तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन टेवा पुग्ने बताउँदै स्थानीय तहले पनि आगामी दिनमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले संस्था, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा मानुषी लघुवित्तबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका महिलाहरूले आफ्ना अनुभवसमेत साझा गरेका थिए।
२५ चैत्र २०८२, बुधबार १८:४२