मानव बेचबिखनको आरोपमा दुई व्यक्ति पक्राउ


जनतापत्र, चौतारा ।
मानव बेचबिखनको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् ।

कुवेतमा एक युवतीलाई करिब ४ लाख रुपैयाँमा बेचेको आरोपमा सिन्धुपाल्चोक र नुवाकोटका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको उनिहरु नुवाकोटको तादी गाउँपालिका–५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय माइला लामा तामाङ रहेका छन् ।

फ्री भिसा–फ्री टिकटको प्रलोभन देखाउँदै मासिक १२० केडी करिब ५० हजार रुपैयाँ कमाई हुने कामको आश्वासन दिएर उनीहरूले ती युवतीलाई कुवेत पठाएका थिए । ब्यूरोका एसपी भावेश रिमालका अनुसार, कुवेतमा पुगेर ती युवतीलाई घरेलु कामदारका रूपमा ९०० केडी अर्थात् करिब ३ लाख ९४ हजारमा बेचेका थिए ।
बेचिएपछि ती युवती यौन शोषणको समेत सिकार भएकी थिइन् । अत्यन्त कठिन अवस्थामा कुवेत प्रहरीको सम्पर्कमा पुगेपछि उनको उद्धार भएको हो ।
उनी कुवेत प्रहरीको सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा नेपाल फर्किन सफल भइन् ।
नेपाल फर्केपछि पीडित युवतीले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन् । सोही आधारमा पक्राउ परेका कुसुम कँडेल र माइला लामाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान थालिएको छ ।

१० मंसिर २०८१, सोमबार ११:३०