/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–१३ स्थित भस्मे बसुरामे सामुदायिक वन उपभोक्ता समूहमा सीमा अतिक्रमण, स्रोत उपयोग र नेतृत्वसम्बन्धी लामो समयदेखि विवाद रहँदै आएको थियो । सो विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाल को सहयोगमा माकुरा समूहले निरन्तर सहजीकरण गर्दै आएको छ ।
शनिबार सम्पन्न सवाल पारितको संयुक्त बैठकमार्फत द्वन्द्व रूपान्तरण प्रक्रिया सफलतापूर्वक अघि बढाउँदै, समूहको नियमित साधारणसभा तथा अधिवेशन पनि सम्पन्न भएको छ । करिब दुई दशकदेखि हुन नसकेको अधिवेशन यसपटक सम्पन्न भएपछि उपभोक्ताहरूमा उत्साह छाएको छ ।नवगठित नेतृत्वमा बालकुमारी तामाङ अध्यक्ष, विलबहादुर तामाङ उपाध्यक्ष, बलबहादुर तामाङ सचिव, र विष्णुकुमारी तामाङ कोषाध्यक्ष चयन भएका छन् । कुल ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो ।

उपभोक्ताहरूले माकुरा समूहको सक्रियता र योगदानको प्रशंसा गर्दै यसपटक नेतृत्व नै सो समूहका व्यक्तिहरूलाई सुम्पिएका छन् । “यदि वनको संरक्षण, संवद्र्धन र व्यवस्थापनसहित सुशासन कायम गर्नुपर्छ भने माकुरा समूहकै व्यक्तिले नेतृत्व लिनुपर्छ भन्ने हाम्रो धारणा थियो,” उपभोक्ता ज्ञानबहादुर तामाङले बताए । उनका अनुसार “माकुराले वन समूहलाई जीवित तुल्याएको छ ।”
कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति नेत्रप्रसाद धिताल, सब–डिभिजन वन कार्यालयका रेन्जरहरू, स्थानीय उपभोक्ता तथा सरोकारवालाहरू सहभागी थिए ।बैठकमा सीमा एकिन, समूहको संस्थागत विकासे र भू–क्षय जस्ता महत्वपूर्ण सवाल पारित गरिएको समूह संयोजक विष्णुकुमारी तामाङले जानकारी दिइन् ।
१ भाद्र २०८२, आईतवार ०६:४३