महिला हिंसाको अन्त्य हाम्रो सामूहिक जिम्मेवारी

महिला हिंसा आज पनि हाम्रो समाजको सबैभन्दा गम्भीर र लाजमर्दो यथार्थका रूपमा उभिएको छ। घरभित्रको दुव्र्यवहारदेखि सार्वजनिक स्थानमा हुने यौन दुव्र्यवहार, जबर्जस्ती, सिमसिमे मानसिक पीडा, आर्थिक नियन्त्रण, सामाजिक बहिष्कारजस्ता असंख्य रूपले महिलाहरू दैनिकरूपमा प्रभावित भइरहेका छन्। कानुन कडा छ, अभियान धेरै छन्, संस्थागत संरचना पनि बनेका छन् ।
तर हिंसा कम नभई उल्टै गहिरिँदै गएको देखिनु हाम्रो सामूहिक असफलता हो। समस्या केवल कसैको व्यक्तिगत व्यवहार वा एक–दुई घटनामा सीमित छैन — यो सदियौँदेखि जरो गाडेर बसेको पितृसत्तात्मक मानसिकता, सांस्कृतिक मान्यताको गलत व्याख्या, र महिलालाई दोश्रो दर्जाको नागरिक ठान्ने दृष्टिकोणको नतिजा हो। परिवारको सम्मान बचाउने बहानामा धेरै घटना लुकाइन्छन्, पीडितले आवाज उठाउँदा उल्टै दाग–बदनामी सहनुपर्छ।
समाज र राज्य दुबै मिलेर महिला हिंसालाई “व्यक्तिगत विषय” बनाइदिँदा दोषी प्रोत्साहित हुन्छन् र पीडित अझै कमजोर बन्छिन्।
अब समय आएको छ—हिंसालाई निजी मुद्दा होइन, संपूर्ण समाजको सुरक्षा र न्यायसँग जोडिएको राष्ट्रिय मुद्दा को रूपमा लिन। परिवारमा चेतना निर्माण, विद्यालयमा समानता र यौन–शिक्षा, समुदायमा खुला संवाद, पुरुष–केन्द्रित अभिमुखीकरणदेखि लिएर तेज र प्रभावकारी कानुनी प्रक्रिया—यी सबै कदम एकैसाथ अघि बढाउन आवश्यक छ। त्यही नै न्याय, विकास र सभ्यताको वास्तविक आधार हो।

९ मंसिर २०८२, सोमबार ०५:४४