मनाङमा हिमपहिरो, पर्यटक प्रभावित हुन सक्ने

मनाङ। मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ। ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ। हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो। हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए।

मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन्।
आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ उनले भने। दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। दैनिक पर्यटक आगमन बढ्न थालेको छ। भारी हिमपातसँगै आएको हिमपहिराले जोखिम भने बढाएको छ। बाटो नै नछेकिए पनि जोखिम भने छ। सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ, उनले भने।

२२ फाल्गुन २०८०, मंगलवार १३:५७