भोलिबाट सरकारी सेवा र विद्यालय सञ्चालन

जनतापत्र, काठमाडौं । केही दिनयता आन्दोलन र कर्फ्यूका कारण प्रभावित भएका सरकारी सेवा तथा विद्यालय आइतबारदेखि पुनः सञ्चालन हुने भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार नै ७५३ वटै पालिकालाई पत्र पठाएर सेवाहरू सुचारु गर्न निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार क्षति पुगेका कार्यालयहरूलाई वैकल्पिक स्थानमा सारेर आवश्यक सेवा सुरु गर्न भनिएको छ भने क्षति नपुगेका कार्यालयहरूले नियमित रूपमा काम गर्न सक्नेछन्।

उनका अनुसार सिंहदरबारभित्र रहेका निकायहरू समेत वैकल्पिक व्यवस्थापनमार्फत सञ्चालन गरिने तयारी गरिएको छ। स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत सामान्य नागरिकका दैनिक कामकाज अघि बढ्ने भएकाले तत्काल सेवा सुरु गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

यस्तै, आन्दोलनका कारण रोकिएका विद्यालय पनि आइतबारदेखि खोल्ने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार धेरैजसो क्षेत्रमा अवस्था सामान्य भएकाले विद्यालय खोल्ने निर्णय गरिएको हो। विद्यालय स्थानीय तहको व्यवस्थापनमा पर्ने भएकाले सम्बन्धित पालिकाले आफ्ना क्षेत्रको अवस्थाअनुसार जानकारी गराउनेछन्।

२८ भाद्र २०८२, शनिबार १७:४३