भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेकथ्रु’ सम्पन्न

जनतापत्र,भोटेकोशी सिन्धुपाल्चोक ।
भोटेकोशी गाउँपालिका–१ मा निर्माण भइरहेको ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाअन्तर्गत सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । करिब ८ अर्ब रुपैयाँ लागतमा इलेक्ट्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको २ हजार ३३८ मिटर लामो सुरुङ आज औपचारिक रूपमा ‘ब्रेकथ्रु’ गरिएको हो । सुरुङ उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले संयुक्त रूपमा स्विच अन गरी गरेका हुन् ।
कम्पनीका अनुसार आगामी सात महिनाभित्र आयोजना पूरा गरेर उत्पादन हुने विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ । आयोजनाबाट राष्ट्रिय ग्रिडमा थपिने विद्युतले मुलुकको ऊर्जा क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सुरुङ उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले आयोजना सञ्चालनमा आएपछि रोजगारीका अवसर सिर्जना हुने, सडक तथा पूर्वाधार सुधार हुने र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।

९ भाद्र २०८२, सोमबार १८:२२