/*php the_title();*/?>
जनतापत्र, काठमाण्डौ — भदौ २३ र २४ मा भएका आन्दोलन तथा प्रदर्शनका क्रममा भएको भौतिक क्षतिको बिमामा हालसम्म करिब साढे ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ। बिमा प्राधिकरणका अनुसार १७ मंसिरसम्म बिमा कम्पनीहरूमा जम्मा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँको दाबी परेको थियो। सोमध्ये गत सातासम्म ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिएको छ। प्राधिकरणले भुक्तानी रकममा अग्रिम भुक्तानी पनि समावेश रहेको स्पष्ट पारेको छ। यो कुल दाबीको करिब १८.७० प्रतिशत मात्र हो। गत सातासम्म बिमा कम्पनीहरूमा ३ हजार ३ सय दाबी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै भुक्तानी सम्पत्ति (घर–सम्पत्ति) बिमाअन्तर्गत छ, जहाँ ७ सय १० दाबीका लागि ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरिएको छ। यस बिमामा १९ अर्ब ८८ लाख रुपैयाँ बराबरको दाबी परेको थियो। सम्पत्ति बिमापछि सर्वाधिक भुक्तानी मोटर बिमामा छ, जहाँ १ अर्ब ८ करोड ६० लाख बराबरको दाबी पूरा गरिएको छ। साथै, ठेकेदार तथा इन्जिनियरिङ बिमामा ६ करोड ८१ लाख, पारवहन बिमामा ६६ लाख र अन्य बिमामा ४९ लाख रुपैयाँ बराबरको भुक्तानी भएको प्राधिकरणको तथ्यांकले देखाउँछ। बिमा कम्पनीहरूले ठूला क्षतिहरूको मूल्यांकन तथा प्रक्रियागत काम पूरा नभएकै कारण दाबीअनुसारको भुक्तानी हालैसम्म कम देखिएको बताएका छन्।
२६ मंसिर २०८२, बिहीबार १३:२८