भक्तपुरमा शृङ्खलाबद्ध चोरीमा संलग्न सिन्धुपाल्चोककी महिला सहित १० जना पक्राउ

जनतापत्र, सिन्धुपाल्चोक – भक्तपुरका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरीमा संलग्न सिन्धुपाल्चोककी एक महिला सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोककी ३८ वर्षीया सरस्वती पुरी, रामेछाप मन्थली नगरपालिका–१३ का २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेलका २२ वर्षीय सरोज भुजेल, भक्तपुरका ३१ वर्षीय सुजन दाहाल र सिन्धुलीका २५ वर्षीय सुमन दर्नाल रहेका छन्। यसैगरी ओखलढुंगाका २३ वर्षीय सुवास विश्वकर्मा, उदयपुरका ३० वर्षीय दीपक गहतराज, मोरङका ३५ वर्षीय विशाल विश्वकर्मा, भोजपुरका ३१ वर्षीय सरोज राई तथा भारतका ३७ वर्षीय सुबरत मेटियालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८२ साल कात्तिक २१ गते मध्यपुरठिमी नगरपालिका–१ मनोहरा फाँटस्थित गंगा बस्नेतको डेराकोठामा भएको चोरी घटनाको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। बरामद सामग्रीमध्ये विशाल विश्वकर्माबाट न्यू क्रिस्टिना ज्वेलर्सबाट चोरी गरिएको ०.८०४ तोला गालेको सुन, दीपक गहतराजबाट रोजल खोटाङ ज्वेलर्सबाट चोरी गरिएको ०.८०३३ तोला गालेको सुन तथा सिन्धुपाल्चोककी सरस्वती पुरीको कोठाबाट २९ लालको सुनको तिलहरी बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै सरोज राईको कोठाबाट सुनको बाला, चाँदीको पाउजु र कल्ली समेत बरामद गरिएको छ।

२९ मंसिर २०८२, आईतवार १४:४४